२०८३, कार्तिक १३ गते शुक्रबार

प्रख्यात भगवती सोनासतिमाई

प्रख्यात भगवती सोनासतिमाई


  • मेरोभ्यूज
  • कार्तिक २, २०८२ आइतबार

  • प्रख्यात भगवती सोनासतिमाई

     

    महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासति महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ ।

    सदरमुकाम जलेश्वरदेखि २३ किलोमिटर उत्तरमा रहेको यस मन्दिर मिथिला क्षेत्रकै भगवती मन्दिर तथा शक्तिपीठहरुमध्ये महत्वपूर्ण एवं चर्चित धार्मिकस्थलको रुपमा रहेको छ ।

    मन्दिरमा विशेषगरी भूत, प्रेत, पिसाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीहरुद्वारा सताइएका व्यक्तिहरुलाई झारफुक एवं तान्त्रिक विधिद्वारा निको हुने विश्वास गरिन्छ ।

    सन्तान नभएकाहरुलाई सन्तान प्राप्त हुने, भाकल पूरा हुने विश्वास रहेको पूजारी कामेश्वर झाले बताए । यहाँ दैनिकजसो पूजापाठ, आराधना, दर्शन तथा बलि प्रदान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    करिब पाँच सय वर्षअघि यस मन्दिर रहेको क्षेत्रमा घना जङ्गल थियो । जङ्गलमा गाई, भैँसीलगायतका बस्तुभाउ चराउन जिल्लाको पश्चिमी तथा दक्षिणी भेगबाट मान्छेहरु आउने गर्दथे र रातिको बास जङ्गलमै बस्नुपर्दथ्यो ।

    एक दिन बस्तुभाउ चरिरहेकै अवस्थामा पाँचवटा भैँसी एकैसाथ हराएपछि चरवाहाहरुले भैँसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा सोनासति महारानी मानवको रुपमा प्रकट भइ ‘भैसी आफूसँग रहेको जानकारी गराए ।

    उनले ‘मलाई दैनिक पूजापाठ, साँझ बत्ती, आरती गरे मात्र भैँसी दिने नत्र नदिने’ भनेपछि चरवाहाहरुले सोही दिनदेखि त्यहाँ सोनासतिमाईको पूजापाठ आरती हुँदै आएको माताको तत्कालीन पूजारी माझी झाको भनाइ किम्वदन्तीको रुपमा रहेको पूजारी झगरु झा बताउँछन् ।

    अर्को प्रसङ्गमा पूजारी माझी झाको मित्र माझी चौधरीका व्यक्ति बिनाकसुर वीरगञ्ज जेलमा परेपछि उनले जेलबाटै सोनासति महारानीको मन्दिर बनाइदिन्छु भनी भाकल गर्दा जेलबाट निस्केको कहानीसमेत स्थानीयहरुको जनजिब्रोमा रहेको कुरा अर्का पूजारी घनश्याम झाको कथन छ ।

    मन्दिर निर्माण हुनुपूर्व यहाँ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौको रुखको टोड्कामा सोनासति महरानीको बास रहने गरेको स्व. पूजारी राजेन्द्र झा (बन्ठु)को भनाइ थियो ।

    केही वर्षपछि पूजारीले कहचरिया स्थानबाट मूर्ति ल्याइ हाल मन्दिर रहेको स्थानमा माटोको घर बनाइ दैनिक पूजापाठ गर्न थाले ।

    यसैबीच सोनामाईकै नाम स्मरण गर्दा जेलबाट मुक्त भएका माझी चौधरीले मातालाई गरेको पूर्ववाचाअनुसार मन्दिर बनाइ दिएपछि त्यसमा माताको प्राणप्रतिष्ठा गराइ पूजापाठ हुन थालेको स्थानीय राजनीतिकर्मी नरेन्द्र यादवले जानकारी दिए ।

    धेरै वर्ष सोही मन्दिरमा पूजाआजा भयो र पुनः सो मन्दिर पनि पुरानो र जीर्ण भएपछि त्यसलाई भत्काइ अहिलेको नयाँ मन्दिर बनेको छ र यसै मन्दिरमा माताको पूजापाठ, आरती दैनिकरुपमा भइरहेको छ ।

    यस शक्तिपीठलाई देशकै नमूना शक्तिपीठ तथा धार्मिक एवं पर्यटकीयस्थलको रुपमासमेत विकास गर्न सकिने स्थानीयहरुको भनाइ रहेको छ ।

    नेपालकै धार्मिक एवं ऐतिहासिक धरोहरहरुमध्येको यो मन्दिर पनि एउटा शक्तिपीठ हो । यहाँ विशेषगरी दसैँमा छिमेकी मुलुक भारतबाट हजारौँ श्रद्धालु भक्तजनको पूजाआजा, दर्शन, भेटी र बलि चढाउनुका साथै भूत मेलामा सहभागी हुनका लागि घुइँचो लाग्ने गर्दछ ।

    घटस्थापनादेखि विजयादशमीसम्म यस मन्दिरमा बडो हर्षोल्लास र धुमधामका साथ विशेष पूजा आराधना गर्नुको साथै यहाँ ठूलो भूत मेला लाग्ने गर्दछ ।

    यस मन्दिरमा मनोकामना पूरा भएको भन्दै मानिसहरु पूर्व भाकलअनुसार लड्डु, मिठाइ, बोका, परेवा, राँगालगायतका पञ्चबलि चढाउन आउने गर्छन् ।

    कति ले त सुनचाँदीका गरगहना, लत्ताकपडा, मुकुट, गेरुवा, चनमा आदि पनि चढाउने गर्छन् भने कतिले विभिन्न आकारका घण्टीहरुसमेत चढाउने गर्छन् ।

    पहिला-पहिला प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म छिमेकी गाउँहरुबाट चामल, धूप, अगरवती, फूल, पैसा संकलन गरी महिला र पुरुषको समूह बनाएर माताको पूजा गर्न आउने चलनसमेत रहेको स्थानीय राजनीतिकर्मी रामबाबु चौधरी बताउँछन् ।

    यस मन्दिर परिसरमा गणेश, राजदेवी, सरस्वती आदि देवी-देवताको मूर्तिको अतिरिक्त तपसी बाबाको धुनीसमेत रहेको छ । यहाँ वर्षको तीन सय ६५औँ दिन चौबिसैँ घण्टा आगो (धुनी) बलिरहन्छ ।

    यहाँ प्रत्येक वर्ष बडादसैँको अवसर पारेर ठूलो भूत मेला पनि लाग्ने गर्छ ।

    दसैँको दश दिन यहाँ सोनासति महारानी साक्षात विराजमान रहने गरेको जनविश्वास रहेको अर्का पूजारी रमेश झाले बताए । असोज शुक्ल प्रतिपदादेखि विजया दशमीसम्म यहाँ ठूलो मेला लाग्ने गर्छ ।

    दसैँको पहिलो दिनअर्थात् घटस्थापनाको दिन बिहान ३/४ बजे पूजारीको घरबाट परम्परागत बाजागाजाको साथ सबै पूजारी सामेल भइ ‘डाला’ (धूप, दीप, अक्षता, कलश, नैवेध, रातो कपडा, खर्ग आदि) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ ।

    द्वितीयादेखि षष्ठीसम्म ठूलो सङ्ख्यामा भक्तजन आउने पूजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाइ मातालाई चढाउने तथा बोका, परेवाको बलि दिने गरिन्छ ।

    त्यसैगरी सप्तमीको दिन विभिन्न ठाउँबाट आएको फूलपाती मन्दिरमा भित्र्याउने चलन छ ।

    त्यस्तै नशा पूजा अष्टमीको दिन हुन्छ र सो दिन रातिमा धूप–दीप, नैवेद्य, फलफूल, चुरा, सुनचाँदी आदिले भव्य पूजा भइ मन्दिरभित्रै बोका बलि दिइन्छ ।

    त्यस्तै राजदेवीलाई कुभिन्डोको बलि दिने तथा माताको जीउभरि घ्यू र सिन्दूर लगाइ नयाँ कपडा लगाउने चलन छ । यस मन्दिरमा महानवमीको दिन सयभन्दा बढीको संख्यामा राँगाको बलि प्रदान हुन्छ ।

    विजयादशमीको दिन पुनः माता सोनासतिको डाला मन्दिरबाट परम्परागत बाजागाजाको साथ पूजारीको घरमा लगेर विधिवत् तरिकाले सोनामाई मेलाको सम्पन्न हुन्छ । यसै दिन (भोइल, टिमकिया, औरही, चेपकट, श्रीपुर, मेघनाथ गोरहन्ना आदि) गाउँका वासिन्दाहरु खुसीले लड्डु, मिठाइ, पेडा, खोवा, जिलेवी आदि चढाएर आपसमा प्रसाद बाँड्ने गर्दछन् ।

    यस सोनामाई मन्दिरको विशेष आकर्षणको रुपमा यहाँ चौथीदेखि अष्टमीको दिनसम्म भूत मेला लाग्ने गदर्छ ।

    चौथीदेखि अष्टमीसम्मको पाँच दिनसम्म करिब पाँचसयको सङ्ख्यामा आफूलाई भूत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्साबोक्सीद्वारा सताएको ठानिएका व्यक्तिहरु यस गाउँको चारैतिरको सीमा क्षेत्रमा प्रवेश गर्दा रुँदै, कराउँदै, दौडदै राजदेवीमाईको खुट्टानिर लड्ने गर्दछन् ।

    मन्दिरका पूजारीहरुले ती व्यक्तिहरुलाई तन्त्रमन्त्रद्वारा बाँध्ने तथा भूत, प्रेत, तथा बोक्साबोक्सीबाट मुक्ति दिलाउने गरिएको स्थानीय प्रेमबाबु यदुवंशीले बताए ।


    प्रकाशित : आइतबार, कार्तिक २ २०८२१०:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार