हुम्ला । भौगोलिकरुपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायक्तु भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।
दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो ।
दुई तलाको नयाँ वडा कार्यालय भवनमा आठवटा कोठा रहेको वडाध्यक्ष कमल बुढाले जानकारी दिए ।
यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा असजिलो हुने गरेकोमा नयाँ र सुविधासम्म भवन निर्माणपछि सहज भएको उनले बताए ।
यसैगरी छिमेकी नाम्खा गाउँपालिकाले सहयोग गरेको सौर्य ऊर्जाले काम गर्न झनै सहज बनाएको उनको भनाइ छ ।
विद्युत्को व्यवस्था भएपछि केही दिन अगाडिदेखि इन्टरनेट सेवा पनि जडान गरिएको छ ।
हाल वडा कार्यालयमा एक वडा सचिव र दुई जना कार्यालय सहयोगी कार्यरत छन् ।
सो वडाका सेवाग्राही जैमल बुढाले नयाँ भवनदेखि सेवा प्रवाह हुन थालेपछि सजिलो अनुभव गरेको बताए । यो भवन रु. ७४ लाखमा निर्माण गरिएको हो ।

