कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन् ।
उनीहरू स्थानीय व्यवसायीबाट रङ र आर्थिक सहयोग जुटाइ प्रतीक्षालयमा रङरोगन गर्न र चिटिक्क पार्ने कार्यमा जुटेका हुन ।
वर्षौंदेखि रङरोगन नभएका र जीर्ण अवस्थाका प्रतीक्षालयमा रङ लगाउने र मर्मत गर्ने कार्य भएको युवा समाजसेवी जेनल विष्टले बताए ।
“साझा प्रयास र सहकार्यले मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ । त्यसैले साथीभाइसँग रमाइलो गर्नेभन्दा समाजका लागि सिर्जनशील कार्य गरेर देखाउने छलफलपश्चात यस कार्यमा जुटेका हौँ”, उनले भने ।
वन समिति र झलारीको नयाँ यात्रु प्रतीक्षालय रङरोगनको कार्य गरिएको र यस कार्यलाई निरन्तरता दिने योजना रहेको विष्टले बताए ।
उनले नगरपालिकाको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा रहेका सबै प्रतीक्षालय रङरोगन र मर्मत गर्ने योजना सुनाए ।
यस अभियानमा व्यवसायी र स्थानीय वन समितिले पनि साथ दिएका छन् ।
युवाहरुले प्रतीक्षालय मात्र नभइ बजार, धार्मिक तथा विद्यालयलगायत क्षेत्रमा पनि सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउँदै आएका छन् ।
शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले युवाहरूले समाजका लागि अनुकरणीय कार्य गरेको बताए ।

