२०८३, कार्तिक १५ गते आइतबार

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका


  • मेरोभ्यूज
  • कार्तिक १२, २०८२ बुधबार

  • पर्यटकीय गन्तव्य बन्दै कोरला नाका

     

    मुस्ताङ । कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

    राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनी वृद्धि हुँदै जान थालेको छ ।

    समुद्री सतहको (चार हजार छ सय दस) मिटर अग्लो उचाइमा रहेको (नेपाल–चीन) उत्तरी कोरला नाका २४ नं. सीमास्तम्भ अर्थात् जङ्गे पिल्लर मुख्य नाका प्रवेशद्वार हो । यही प्रवेशद्वार रहेको कोरला नाकामा बर्सेनी हजारौँ आन्तरिक पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् ।

    मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने ५० प्रतिशत आन्तरिक पर्यटक कोरला नाका अवलोकनका लागि जाने गरेका छन् ।

    यहाँ आउने आन्तरिक पर्यटक मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ र कोरला नाका अवलोकनका लागि प्रस्थान गर्ने गरेको पाइएको छ ।

    उपल्लो मुस्ताङ भ्रमणका लागि पाच सय डलर राजश्व तिरेर प्रवेश अनुमति लिने विदेशी पर्यटक भने सीमा नाकामा जान पाउँदैनन् ।

    सुरक्षा संवेदनशीलताका कारण उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरीको (बिओपी) चेक पोस्ट कटेर नाकामा जान पाउँदैन ।

    चाडपर्वसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र हालै देखिएका प्रतिकूल मौसमको प्रक्षेपणका बाबजुद मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दसैँपछि असोज १७ र १८ गते गरी दुई दिनमा छ हजार एक सय ७३ नेपाली आन्तरिक पर्यटक र छ सय ८८ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ छिरिङकिप्पा लामाले जानकारी दिए ।

    यसैगरी दुई दिनको अवधिमा दुई हजार दुई सय १७ सवारीसाधन मुस्ताङ भित्रिएको प्रनाउ लामाको भनाइ छ ।

    नेपाल–चीन उत्तरी कोरला नाका भ्रमणका लागि आन्तरिक पर्यटकको सङ्ख्या दसैँपछि ह्वात्तै बढेको न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले जानकारी दिए ।

    यसैगरी दैनिक एक हजार पाच सय आन्तरिक पर्यटकले कोरला नाकाको अवलोकन गरी फर्किएको उनको भनाइ छ ।

    नाका अवलोकनका लागि न्हेचुङस्थित सशस्त्र प्रहरी चेक प्वाइन्टमा एक सय २६ बस, जीप र कार भित्रिएका छन् ।

    यसैगरी चेक प्वाइन्टमा इन्ट्री भइ दुई सय २४ मोटरसाइकल कोरला नाका पुगेको बिओपी इञ्चार्ज थापाले उल्लेख गरे ।

    उच्च स्थानमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका अवलोकनका लागि जाने नेपाली पर्यटकमा चिसो र हाइअल्टिच्युडका कारण विभिन्न समस्या देखिने गरेको पाइएको छ ।

    नाकामा अक्सिजन कमीका कारण हाइअल्टिच्युड हुने सम्भावना र चिसोका कारण सवारीसाधन स्टार्ट हुन समस्या हुने आदि समस्या देखिएको इञ्चार्ज थापाले बताए ।

    नाका पुगेका पर्यटक तथा सवारीसाधनलाई चिसोका कारण समस्या देखिने र उनीहरुको उद्धार गर्न समस्या देखिएकोले दैनिक बिहान ७ बजे नाका प्रवेश र साँझ ४ बजे नाकाबाट फर्किएर न्हेचुङ चेक पोस्टबाट भित्रिनुपर्ने कार्यतालिका सार्वजनिक गरिएको इञ्चार्ज थापाले जनाए ।

    बहुचर्चित यहाँको उत्तरी कोरला नाकामा पुगेका नेपाली आन्तरिक पर्यटक नेपाल–चीनको २४ नं. जङ्गे पिल्लरको प्रोफाइल राखेर राष्ट्रिय झन्डा फहराउँदै व्यक्तिगत र सामूहिकरुपमा फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

    कोरला नाका अवलोकनका लागि पुगेका नेपाली पर्यटकले नाका छेउ त्रिपाल टाँगेर व्यापार चलाएर बसेका सीमावर्ती क्षेत्रका व्यापारीसँग कोसेलीका रुपमा चिनियाँ सामान किनमेल गर्ने गरेको ढिन्डुप गुरुङले जानकारी दिए ।

    नाकामा नेपाली पर्यटक आउन थालेपछि स्थानीय नाकामा व्यापार गर्न बसेका व्यापारी उत्साहित भएको उनले बताए ।

    नाका पुगेका नेपाली आन्तरिक पर्यटकले उत्तरतर्फ सीमापारी चीनको तिब्बती भूमिमा निर्माण भएको भव्य संरचना हेरेर खिन्न हुन्छन् ।

    चीनले उत्तर/दक्षिण व्यापारिक मार्गका रुपमा विस्तार गर्ने उद्देश्यले ठूला-ठूला भव्य भौतिक संरचना बनाइसकेको छ । यहाँको कोरला नाकालाई सरकारले पूर्णरुपमा सञ्चालन गरे पनि नाकामा नेपालका तर्फबाट आवश्यक भौतिक संरचना निर्माण हुन सकिरहेका छैनन् ।


    प्रकाशित : बुधबार, कार्तिक १२ २०८२११:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार