२०८३, कार्तिक १५ गते आइतबार

अलैँचीको मूल्य घट्यो

अलैँचीको मूल्य घट्यो


  • मेरोभ्यूज
  • कार्तिक १२, २०८२ बुधबार

  • अलैँचीको मूल्य घट्यो

     

    सङ्खुवासभा । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) रु. ९० हजार मूल्य रहेकोमा यस पटक भने रु. ८० हजारमा कारोबार भइरहेको छ ।

    एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ ।

    कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य प्रतिमन रु. ८० हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार गतवर्ष प्रतिमन रु. एक लाख दस हजारसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्य पनि घटेको हो ।

    “उत्पादन बढी र माग कम भएका कारणले अलैँचीको मूल्य घटेको हो । गतवर्ष रु. ९० देखि रु. एक लाख दस हजारसम्म कारोबार भएको थियो ।

    हाल ग्रेडिङ राम्रो भएको अलैँची रु. ८२ हजार र ग्रेडिङ नभएको अलैँची रु. ८० हजारमा कारोबार भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भने ।

    मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ ।

    सङ्खुवासभामा करिब दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो ।

    अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

    सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ ।

    यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेको गुनासो छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेको छ ।


    प्रकाशित : बुधबार, कार्तिक १२ २०८२११:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार