२०८३, कार्तिक ११ गते बुधबार

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ-तातोपानी

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ-तातोपानी


  • मेरोभ्यूज
  • कार्तिक २०, २०८२ बिहीबार

  • पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ-तातोपानी

     

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ ।

    भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रिय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो ।

    अन्नपूर्ण हिमालको आधार शिविरको तीन दिने पदयात्रा सकेर फर्केकी बुटवलकी स्मृति न्यौपानेले तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरेपछि पदयात्राको थकान मेटिएको अनुभव सुनाइन् ।

    “यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उनले भनिन्, “थकित शरीरमा तातोपानीले नुहाएपछि स्फुर्ति आयो ।”

    तातोपानीमा शरीर डुबाएर स्नान गरेकोहरूले शारीरिक स्फूर्ति बढेको, थकान मेटिएको, चोट पटकको दुखाइ कम भएको, सुन्निएको, बज्रिएको समस्या निको भएको अनुभव सुनाइन् ।

    चिसो हावापानीबाट आएकोहरू तातोपानीमा स्नान गरेर न्यानो महशुस गर्छन् ।

    पर्यटकीय यामको शुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

    चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरूको पनि सङ्ख्यामा वृद्धि भएको कुण्डका सञ्चालक जीतेन्द्र चोचाङ्गी पुनले बताए ।

    “बर्खा रोकिएर मुस्ताङ जाने आउने पर्यटकको चहल-पहलसँगै तातोपानीमा नुहाउनेहरू पनि बढेका छन्”, उनले भने, “याममा दैनिक तीन सयदेखि पाच सय जनाले स्नान गर्छन् ।”

    बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुईवटा पोखरी र धाराहरू बनाइएको छ ।

    धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६:०० देखि साँझ १०:०० बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु. ५० र विदेशीलाई रु. एक सय ५० प्रवेश शुल्क तोकिएको छ ।

    कुण्डमा प्रवेश शुल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि करबाहेक रु. ५० लाख एक हजारमा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ ।

    वि.सं. २०८१/०८२ रु. ५६ लाख २५ हजार ३७ र आर्थिक वर्ष २०८०/०८१ मा रु. ५५ लाख नौ सयमा ठेक्का लगाएको थियो ।

    भुरुङ–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड रहेको छ ।

    तातोपानी कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानीस्थित सर्वोदय माध्यमिक विद्यालय, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

    कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब वीसवटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । एक दिनमा पाँच सयभन्दा बढी वास बस्न सक्ने क्षमता छ ।

    केही दिनयता होटलहरू भरिभराउ भएको व्यवसायी अमृतमान शेरचनले बताए ।

    यसपालि भुरुङ–तातोपानीमा बास बस्ने आधाभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किएकाहरू रहेका उनले बताए ।

    देशका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटकहरू भुरुङ–तातोपानीमा झर्ने र त्यहाँदेखि जीप चढेर अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको हुमखोला पुगेर पदयात्रा शुरु गर्ने गर्दछन् ।


    प्रकाशित : बिहीबार , कार्तिक २० २०८२०८:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार