२०८३, कार्तिक १५ गते आइतबार

मानुङकोटमा बढे पर्यटक

मानुङकोटमा बढे पर्यटक


  • मेरोभ्यूज
  • कार्तिक २६, २०८२ बुधबार

  • मानुङकोटमा बढे पर्यटक

     

    तनहुँ । चिसो मौसम शुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहल-पहल बढ्न थालेको छ । व्यासनगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    यतिबेला मानुङकोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

    मानुङकोटबाट सूर्योदयसँगै देखिने कुहिरोले यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउने दमौलीका सोमबहादुर नेपालीले बताए ।

    बन्दीपुर गाउँपालिका–२ का सुदिन पौडेलले दमौली बजारलाई कुहिरोले धपक्क छोपेको दृश्य हेर्नका लागि मानिसहरु आउने गरेको सुनाए ।

    मानुङकोट हिलटप होटलका सञ्चालक चुडामणि दाहालले विगत एक सातादेखि मानुङकोटमा पर्यटकको चाप बढेको बताए । पर्यटकहरु अघिल्लो दिन बास बसेर सूर्योदय र कुहिरो हेर्ने गर्छन् ।

    मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ ।

    विगतमा होटलसमेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् ।

    दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यवलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

    मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

    दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

    मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् ।

    खानेपानीको अभावमा यहाँका स्थानीयले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

    मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । शहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो ।

    अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आर.सि.सी. ढलान गरिएको छ ।


    प्रकाशित : बुधबार, कार्तिक २६ २०८२०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार