२०८३, कार्तिक १५ गते आइतबार

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’


  • मेरोभ्यूज
  • कार्तिक २६, २०८२ बुधबार

  • लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

     

    मुस्ताङ । कुनै बेला यहाँका ९६ वटै गाउँ बस्तीमा उवा, जौँ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा)लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ प्रयोग गर्ने संस्कृति थियो ।

    खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत ‘पानी घट्ट’ चल्थे ।

    विद्युतीय सुविधा नहुँदा त्यसबेलाको उपयुक्त प्रविधि भनेकै परम्परागत पानी घट्ट एकमात्र विकल्प थियो ।

    तर, अचेल त्यो जमाना पूरै फेरिएको छ । पछिल्लो समय तीव्रगतिमा भइरहेको अत्याधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदियौँदेखि मुस्ताङमा प्रचलनका रूपमा रहेको परम्परागत ‘पानी घट्ट’ संस्कृति विस्तारै लोप हुने अवस्थामा छ ।

    प्राचीनकालदेखि नै पिसानी गर्ने एक स्थानीय घरेलु प्रविधि माध्यमका रूपमा रहेको यस प्रकारको परम्परागत संस्कृतिका रूपमा परिचित ‘पानी घट्ट’ संरक्षण गर्नसमेत यतिबेला मुस्किल पर्ने देखिएको छ ।

    हिमाली जिल्लामा रैथाने बालीलाई पीठो बनाउने सफा र उपयुक्त प्रविधिका रूपमा स्थापित बनेको परम्परागत ‘पानी घट्ट’ अचेल प्रविधिको विकाससँगै मुस्ताङका अधिकांश गाउँहरूमा लोप हुन थालेका छन् । पिसानी सहज बनाउने परम्परागत ‘पानी घट्ट’ सङ्कटमा परेको हो ।

    घरपझोङ–५ ठिनीमा गाउँहरूको सामूहिक एक परम्परागत पानी घट्ट सञ्चालनमा छ । यहाँको पानी घट्ट गाउँलेबाट वार्षिक तीन हजार शुल्क बुझाउनेगरी ढुम्बा स्थानीय हिमा गुरुङले सञ्चालन गरेका छन् । ठिनी गाउँबाट दुई वर्षदेखि पानी घट्ट आफूले सञ्चालन गर्दै आइरहेको हिमा बताउँछिन् ।

    पानी घट्टमा एक मुरी अन्न पिसेको एक पाथी ज्याला लिने गरेको सञ्चालक गुरुङ बताउँछिन् । धेरैजसोले छिटोछरितोका लागि विद्युतीय मेसिनमा पिस्ने गर्छन्, घट्टमा घण्टौँ लाग्ने काम मेसिनले केही समयमै पूरा गरिदिन्छ ।

    सञ्चालक गुरुङ भन्छिन्, “पानी घट्टको महत्व र यसबाट हुने फाइदा बुझेकाहरू पीठो पिस्न यहाँ आउँछन् ।” यहाँ आफूले चलाएको पानी घट्टमा सेवा लिन ठिनी गाउँ र जोमसोम आसपासका सेवाग्राही आउने गरेको गुरुङले बताइन् ।

    पानी घट्टमा फापर, फापरको पात (ढाप्रा), उवा, फापर, जौँ, गहुँ र मकै पिस्न आउने गरेको जानकारी दिइन् ।

    यहाँका पानी घट्ट सिँचाइका लागि प्रयोग गरिने कुलोको पानीबाट सञ्चालन गर्ने गरिएको उनको भनाइ छ ।

    खेतीपातीमा सिँचाइ गर्दा घट्टको काम रोकिन्छ, अन्नबाली थन्क्याएपछिको खाली समयमा पानी घट्ट चलाउने गरेको उनले उल्लेख गरिन् ।

    पछिल्लो समय प्रविधिको विकाससँगै जलवायु परिवर्तनका कारण पानीका हिमनदीहरू सुक्दै जान थालेपछि पानी घट्ट संस्कृति जोगाउन मुस्किल पर्ने देखिएको जनाइन् ।

    ठिनी पानी घट्टमा फापर पिस्ने सेवा लिन गएकी घरपझोङ–४ जोमसोमकी स्थानीय प्रमिता थकालीले परम्परागत पानी घट्टको महत्व र फाइदा मानिसले बुझ्न नसकेकोप्रति चिन्ता व्यक्त गरिन् ।

    पानी घट्टमा पिसेको अन्नबालीको परिकार स्वादिलो, स्वास्थ्यवर्द्धक र दिगो हुने भएकोले आफू सधैँ पानी घट्टमा धाउने गरेको बताइन् ।

    पछिल्लो समय विद्युतीय मेसिन गाउँघरमा पर्याप्त मात्रामा सञ्चालनमा रहेको भए पनि घट्टमा पिसेको अन्नबालीको परिकार नतात्तिने, गन्ध नआउने, छिटो नबिग्रने र धैर समयसम्म राख्न टिकाउ हुने भएकोले पानी घट्ट संस्कृति बिर्सन नहुने स्थानीय थकालीले उल्लेख गरिन् ।

    मानिसहरू छोटो समय धेरै समय बचत गर्न चाहने सोचले गर्दा समय किफायत गर्न पानी घट्टमा जाने प्रचलन हराउँदै जान थालेको उनको भनाइ छ ।

    जोमसोममा रहेको दुई पानी घट्टमध्ये एक पूरै बन्द भएको र अर्को पानी घट्ट चलाउन सिँचाइ कुलोको पानी नहुँदा समस्या पर्ने गरेको स्थानीय थकालीले बताइन् ।

    त्यसैगरी, घरपझोङ–५ ठिनी गाउँकी स्थानीय हाल पोखरा बस्दै आएकी सीमा थकालीले पोखरामा लैजान फापर र उवाको सातु पिस्न घट्ट आएको बताइन् ।

    मेसिनमा पिसेभन्दा पानी घट्टमा पिसेको पीठो स्वस्थ्यकर र लामो समयसम्म प्रयोगमा ल्याउन मिल्ने भएकोले पानी घट्टको संरक्षण गर्न आवश्यक रहेको औँल्याइन् ।

    पानीको सहायताले घट्टको जाँतोलाई घुमाएर चल्ने एक प्रकारको परम्परागत प्रविधि पानी घट्ट मुस्ताङका केही गाउँमा मात्र रहेको छ ।

    यहाँ सदियौँदेखि घरेलु प्रविधिका रूपमा अपनाइएको परम्परागत पानी घट्ट संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने देखिएको छ ।


    प्रकाशित : बुधबार, कार्तिक २६ २०८२०९:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार