२०८३, कार्तिक ११ गते बुधबार

सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती


  • मेरोभ्यूज
  • कार्तिक २७, २०८२ बिहीबार

  • सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

     

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन ।

    भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । तीन जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् ।

    पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायीरूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्केको छ ।

    तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्केको हो ।

    “छोराछोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,” बलबहादुरले भने, “बजारमा एउटै घरको ओल्लो, पल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन । गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जिवितै छ । छोराबुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटल व्यवसायमा लगाएको छु ।”

    बलबहादुरले स्वाँतमा प्यारामिड होटल शुरु गरेको छ । उनले होटल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोराबुहारीलाई गाउँमै भुलाउनु भएको हो । दुई रोपनी पाखो सम्माएर होटलका संरचना तयार पार्न रु. एक करोड ८० लाख खर्चेको बलबहादुरले बताए ।

    “छोराबुहारीलाई गाउँमा ल्याएर त्यतिकै राख्न भएन्,” उनले भने “होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो ।”

    गत हप्तादेखि सञ्चालन भएको प्यारामिड होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने प्यारामिड शैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुईवटा बाहेक कोठामा दुईवटा बेड छन् ।

    चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाटाको छानोमा नथुप्रियोस भनेर प्यारामिड शैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाइ छ ।

    होटलको डिजाइन भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको जस्तो छ ।

    चुच्चो-चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा शितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटलका कोठाहरूलाई जस्तापाटाले छाएको छ ।

    तिलिजा परिवारका चार जना बाहेक थप एक जनालाई होटलमा रोजगारी दिएका छन् । पाहुनाको स्वागत सत्कार, सरसफाइ, व्यवस्थापनदेखि भान्छाकोठाको काममा परिवारकै सदस्य खटिन्छन् ।

    सिस्नोको मूना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु, कोदो, मकैको ढिँडो होटलका परिकार हुन् ।

    अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानीअन्तर्गत शिखदेखि एक घण्टाको पैदलयात्रामा पुगिने स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ ।

    स्वाँतदेखि वीस मिनेट पैदलयात्रा गरेपछि पुगिने छहरे झरना मनमोहक र आकर्षक छ ।

    खोपारा, घोडेपानी, शिख, मोहरेडाँडा, घान्द्रुक र बयलीको बाटो भएर समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको स्वाँतमा पुगिन्छ । होटलमा इन्टरनेट र चिसो याममा तातोपानीले स्नान गर्ने सुविधा छ ।

    स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौं, चितवन, बुटवल र बेलायतमा छ । ७० घर भए पनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको स्वाँतको शिखर आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पाइजा पुनले जानकारी दिए ।

    स्थानीयबासी मनबहादुर पुनका अनुसार कच्ची सडक, घर-घरमा खानेपानी, विद्युत, इन्टरनेट, मोवाइल सुविधा पुगेको छ । व्यवसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्वर जमिन छ । रायो सागको विउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत ।

    “रित्तिदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हो,” बलबहादुरले भने “अरुलाई गाउँ फर्कने सन्देश दिनु पनि मेरो उद्देश्य हो ।”


    प्रकाशित : बिहीबार , कार्तिक २७ २०८२०९:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार