२०८३, कार्तिक १५ गते आइतबार

तालतलैयामा पाहुना चराको चहल-पहल

तालतलैयामा पाहुना चराको चहल-पहल


  • मेरोभ्यूज
  • मंसिर १, २०८२ सोमबार

  • तालतलैयामा पाहुना चराको चहल-पहल

     

    कञ्चनपुर । जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर-कैलालीका सिमसार, नदी तथा तालतलैयामा हिउँदे पाहुना चरा पुग्ने क्रम शुरु भएको छ ।

    उत्तरी क्षेत्रका हिमाल छिचोल्दै लामो दूरी तय गरेर पुग्न थालेका पाहुना चराका कारण सिमसार क्षेत्र र तालतलैयामा चहल-पहल बढ्न थालेको छ ।

    उत्तरी गोलार्धमा अत्यधिक चिसो बढ्न थालेपछि प्रत्येक वर्ष पाहुना चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालतलैया, सिमसार क्षेत्रसँगै त्यसको बाह्य क्षेत्रमा रहेको नदी, तालतलैयामा बसाइँ सरेर आइपुग्ने गरेका छन् ।

    वर्षा सकिएर चिसो मौसम शुरु भएपछि सिमसार क्षेत्रहरूमा साइवेरिया, कीर्गिस्तान, उत्तरी चीन, तिब्बत र मङ्गोलियालगायतका ठाउँबाट पाहुना चराहरू पुग्न थालेको नेपाल पन्क्षी संरक्षण सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराले बताए ।

    “ती क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चराहरू जाडो छल्न यहाँका तालतलैया र सीमसार क्षेत्रमा प्रत्येक वर्ष पुग्ने गरेका छन्”, उनले भने ।

    वरिष्ठ चराविज्ञ डगौराका अनुसार कञ्चनपुरको पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको शिकारी ताल, महाकाली र चौधर नदी र कैलालीको घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, कर्णाली नदी तथा डडेल्धुराको आलितालसम्म चराको आगमन शुरु भइसकेको छ । बसाइँ सारेर आउनेमा अधिकांशमा हाँस प्रजातिका चरासँगै अन्य जलपक्षी र फिस्टे चरा रहेका छन् ।

    तालतलैया, नदी र सिमसार क्षेत्रमा मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैले टाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे र ट्याकट्याकेलगायत प्रजाति देखिने गरेको चराविज्ञ डगौरा बताउँछन् ।

    नेपालमा प्रत्येक वर्ष करिब एक सय बढी प्रजातिका चरा जाडो छल्नका बसाइँ सारेर आउने गरेका छन् । जसमा आधाभन्दा बढी हाँस प्रजातिका हुने गरेका छन् ।

    कञ्चनपुर र कैलालीका तालतलैयामा मात्र करिब ३० देखि ५० प्रजातिका पाहुना चरा नियमितरूपमा आउने गर्छन् ।

    पछिल्ला केही वर्षमा बसाइँ सर्ने चराको सङ्ख्या घट्दो क्रममा रहेको चरा विज्ञ डगौराको भनाइ छ ।

    सिमसार क्षेत्रमा मानव अतिक्रमणसँगै प्राकृतिक तालतलैया माछापालनको कार्य हुन थालेपछि पछिल्ला वर्षहरूमा बसाइँ सारेर आउने पाहुना चराको सङ्ख्यामा गिरावट आउन थालेको उनले बताए ।

    चरा विज्ञ डगौराका अनुसार चराको दिर्घकालीन संरक्षणका लागि सिमसार क्षेत्रको व्यवस्थापन, जनचेतना अभिवृद्धि र स्थानीय समुदायको सहभागिता आवश्यक रहेको छ ।

    -----

    पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’

    भोजपुर । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।

    स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो ।

    धार्मिक आस्थासँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।

    बिस्कुट्नेडाँडामा रहेको मङ्गलबारे देवस्थल, कन्यादह, धार्मिकसँगै रमणीय पर्यटकीय क्षेत्र रहेकोले यहाँ धूपी, अशोक, जामुन, आँप, लिचीलगायतका बिरुवासमेत रोपण गरिएको छ ।

    यहाँको कन्यादह तथा मङ्गलबारे देवस्थलमा दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहेको स्थानीय हर्कराज राईले बताए ।

    यो प्रसिद्ध क्षेत्र ओझेलमा परेकोले यसको विकास तथा प्रचार-प्रचार स्थानीय जुटेको उनको भनाइ छ ।

    “यो क्षेत्रको पर्यटकीयसँगै धार्मिक महत्व पनि छ”, उनले भने, “संरक्षण अभावमा यहाँका कतिपय संरचना ओझेलमा परेको अवस्था थियो, यो स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हामी जुटेका छौँ ।”

    यो सँगै यहाँ रहेका आतबारे देवस्थल र सोमबारे देवस्थल निकै ठूलो धार्मिक महत्व रहेको स्थानीय सुगम राईले बताए । यी क्षेत्रमा विभिन्न समयमा पूजा-आजासँगै मेला महोत्सव लाग्ने गरेको छ ।

    “यहाँ आइतबारे, सोमबारे र मङ्गलबारे गरी तीन देवस्थल छन्”, उनले भने, “यी धार्मिक क्षेत्रको आ-आफ्नै विषेशता रहेका छन्, मङ्गलबारे र कन्यादह संरक्षण गरेका छौँ, अन्य क्षेत्रको पनि संरक्षणको काम गरिरहेका छौँ ।”

    यो क्षेत्रबाट कावा खोला फाँट, धनकुटाको छिन्ताङ, हतुवागढी क्षेत्र, हिले बजार तथा मौसम सफा भएको समयमा विभिन्न ठाउँको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानीय सङ्गम राईले बताए ।

    यहाँ आउने मानिसलाई प्राकृतिक सुन्दरताले लोभ्याउने उनको भनाइ छ । यो क्षेत्रको संरक्षण गरिएपछि आन्तरिक पर्यटकको आवगमन बढेको उनले बताए ।


    प्रकाशित : सोमबार, मंसिर १ २०८२०६:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार