२०८३, कार्तिक १५ गते आइतबार

च्याङ्ग्रापालनबाट वार्षिक रु. पाँच लाख आम्दानी

च्याङ्ग्रापालनबाट वार्षिक रु. पाँच लाख आम्दानी


  • मेरोभ्यूज
  • मंसिर १२, २०८२ शुक्रबार

  • च्याङ्ग्रापालनबाट वार्षिक रु. पाँच लाख आम्दानी

     

    मुस्ताङ । हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो रु. एक हजार तीन सय छ । यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ रु. एक हजार लगानी गरेर च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन शुरु गरेको थियो ।

    हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन थालेपछि नेपाली र दलित समुदायका केही व्यक्तिहरु त्यहाँ पुगेका थिए ।

    घरपझोङ–४ जोमसोमका ३० घरपरिवारले सामूहिक च्याङ्ग्रापालन गर्ने प्रस्ताव गरे । आयोजनाले सो प्रस्ताव पारित गर्यो र अनुदान सुनिश्चित गर्यो ।

    पूर्णबहादुरसहित दलित समुदायका ३० घरधुरीले प्रतिघरधुरीका लागि तीन/तीनवटा च्याङ्ग्राको माउ (रमा) पाए । एक घरधुरीलाई च्याङ्ग्रा खरिद गर्दा लाभग्राही घरधुरीले रु. एक हजार तिरे । बाँकी रकम उपआयोजनाले अनुदान सहयोग गर्यो ।

    शुरुमा ३० घरधुरीका दलित समुदायले सगोलमा नै च्याङ्ग्रापालन गरे ।

    तर, सामूहिकरुपमा च्याङ्ग्रापालन गर्न कठिनाइ भयो । कतिपय च्याङ्ग्राहरु हराउने र मर्न थाले । एक वर्ष नपुग्दै अनुदानमा खरिद गरिएको च्याङ्ग्राको सङ्ख्या घट्दै जान थालेपछि उनीहरुले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे । पूर्णबहादुरले सगोलबाट भागबन्डा गरी लिँदा भागमा दुईवटा पर्यो ।

    पूर्णबहादुरको भागमा परेको दुईवटा च्याङ्ग्रामा दसवटा थपेर १२ वटा पुर्याए । त्यसपछि शुरु भयो पूर्णबहादुरको च्याङ्ग्रापालनको व्यवसायिक यात्रा ।

    उनको च्याङ्ग्रापालन अहिले लोभलाग्दो छ । उनको फार्ममा हाल एक सय ३० बढी च्याङ्ग्रा छन् । यसै वर्ष मात्र पूर्णबहादुरले वीसवटा च्याङ्ग्रा रु. ४० हजार मूल्यमा बिक्री गरे ।

    उनी भन्छन्, “पाल्न त धेरै पनि सकिन्थ्यो, तर हिउँचितुवा र अन्य वन्यजन्तुबाट बचाउन गाह्रो पर्छ ।”

    उनले च्याङ्ग्रापालनका लागि एक जना गोठाले पनि राखेको छ । उनीसँगै च्याङ्ग्रापालन शुरु गरेका ३० घरधुरीमध्ये हाल सात घरधुरीले मात्रै च्याङ्ग्रापालन गरिरहेका छन् ।

    च्याङ्ग्रापालनको मुख्य उद्देश्य मल उत्पादन र पाठा-पाठी उत्पादन गर्नु हो । हाल बर्सेनी दुई सय झोपा मल बिक्री गरी रु. दुई लाख बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताउँछन् ।

    पूर्णबहादरले भने, “मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालोलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ ।”

    औसतमा वार्षिक रु. पाँच लाख बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ ।

    पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उनको छ ।


    प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार