कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेको छ । मजदूरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएको हो ।
कुनै बेला भारतमा मजदूरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेको छ । मजदूरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो ।
वि.सं. २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न शुरु गरेका उनी अहिले डेरी मालिक बन्न सफल भएको छ ।
रानाले दुई लिटर दूधबाट व्यवसाय शुरु गरेको हो । अहिले उनी दैनिक एक हजार पाच सय लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएको छ ।
“भारतमा मजदूरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,” रानाले भने, “यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।”
शुरुवातमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे । त्यही लगन र परिश्रमले उनलाई राम्रो आम्दानीसँगै सफल व्यवसायीसमेत बने ।
गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएको छ । दूध बोक्न छ जनालाई मासिक रु. वीस हजारदेखि रु. २६ हजारसम्म तलब दिएर उनले कामदार राखेको छ ।
“दुई लिटर दूधबाट शुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो,” उनले भने, “अहिले एक हजार पाच सय लिटर दूध सङ्कलन हुन्छ ।”
यसै व्यवसायबाट रानाले करिब रु. ९० लाख बराबरको सम्पत्तिसमेत जोडेको छ ।
“दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक रु. १३ लाखसम्म आम्दानी हुने गरेको छ,” रानाले भने, “यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।”
पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन् ।
तर विदेशमा गरिने दुःख भन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरु पनि थुप्रै छन् ।
विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा कडा परिश्रम गरेका रानाको सफलता लोभलाग्दो छ । उनी अहिले समाजमा उदाहरणीय व्यक्ति बनेको छ ।

