२०८३, कार्तिक १५ गते आइतबार

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहल-पहल

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहल-पहल


  • मेरोभ्यूज
  • मंसिर २७, २०८२ शनिबार

  • जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहल-पहल

     

    नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहल-पहल बढ्न थालेको छ ।

    बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

    यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिसोर्टमा समय बिताएर अधिकाँश पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा घुम्ने गर्छन् ।

    “हामीसँग सीमित जीप मात्रै छन्, त्यसैले जसले पहिला खबर गरेको हुन्छ उसैलाई घुमाउछौँ”, मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीले भने ।

    उनले खास गरी शनिबार आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परेको उल्लेख गर्दै विदेशीले बाघ देख्न पाउँदा निकै खुशी हुने गरेको बताए । यस बाहेक नाट्टा बाँकेसहित अन्य व्यवसायीले पनि थप सफारी जीप सञ्चालन गर्ने तयारी गरेका छन् ।

    मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक चौधरीले निकुञ्जमा सफारी गर्न आउने पर्यटकको माग बढ्न थालेको उल्लेख गर्दै निकुञ्जमा जङ्गल सफारी गराउन गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले दुई थान सफारी जीप सञ्चालनमा ल्याएको जानकारी दिए ।

    उनले हरेकदिन २५ देखि ३० जनाको समूहमा पर्यटक काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज र भारतका लखनउ, बहराइच तथा ठूला शहरलगायतका स्थानबाट आउने गरेको बताए ।

    थारु संस्कृतिमा आधारित होमस्टेमा आउने पर्यटक जङ्गल सफारीसँगै थारु संस्कृतिमा नै रमाउने गरेको चौधरीको भनाइ छ । होमस्टेमा आउने पाहुनाका लागि चार घण्टा र आठ घण्टाको जङ्गल सफारी तथा जङ्गलमा ‘नाइट स्टे’ प्याकेज राखिएको छ ।

    सफारीबापत् चार घण्टाको रु. १२ हजार र आठ घण्टाको रु. १६ हजार शुल्क निर्धारण गरिएको छ । जङ्गलमा रात्रि बास र खान तथा बस्नको लागि अलग प्याकेज रहेको छ ।

    होमस्टेमा आउने पर्यटक प्रायः सफारी गर्न र जङ्गलमा ‘नाइट स्टे’ गर्न मन पराउँछन् । केही समयअघि मात्रै निकुञ्जको करेली मचानमा अमेरिकी नागरिकले नाइट स्टे गरेका र निकुञ्जभित्र जङ्गल सफारी गराउँदा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौकालगायतका वन्यजन्तु पटक-पटक अवलोकन गर्न पाएका थिए ।

    नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जदेखि करिव २२ किलोमिटरको दूरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएको बताए ।

    उनले निकुञ्जभित्रको बाटो खुला भइसकेको र यसले गर्दा निकुञ्जभित्र सहजरूपमा सफारी गर्न पाइने भएकाले बन्यजन्तु हेर्न निकुञ्जमा आउन आग्रह गरे ।

    नेपाल–भारत सिमानाका खुला रहेकाले छिमेकी देश भारतबाट पनि पर्यटक भित्रायाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै सिग्देलले निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले पर्यटनकर्मीलाई उत्साहित बनाएको धारणा राखे ।

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको उल्लेख गर्दै जङ्गल सफारीका लागि नीजि लगानी बढ्न थालेको बताए ।

    नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको पाच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो ।


    प्रकाशित : शनिबार, मंसिर २७ २०८२०७:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार