२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु. दस लाख बचत गर्छन्

व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु. दस लाख बचत गर्छन्


  • मेरोभ्यूज
  • मंसिर २९, २०८२ सोमबार

  • व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु. दस लाख बचत गर्छन्

     

    सर्लाही । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ ।

    यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौं, चितवन, हेटौंडा, विराटनगरलगायत देशका प्रमुख शहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् ।

    जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठूलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परबरलगायत तरकारी उत्पादन हुँदै आएको छ । यसले किसानहरूको आयआर्जनमा समेत ठूलो टेवा पुगेको छ ।

    लालबन्दी नगरपालिका–१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउँछन् ।

    उमेरले ३५ लागेका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको सुनाए । बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले छ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिकेको हो ।

    उनले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा दस गुणासम्म बढी आम्दानी हुने उनले सुनाए ।

    “हाल चार बिगाहा खेतमा तरकारी गरिरहेको छु । त्यसमध्ये २५ कट्ठामा गोलभेँडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु । यस सिजनको अन्तिममा निस्कने गरी १४ कट्ठा खेतमा कविता जातको टमाटर रोप्ने योजनासहित बेर्ना उत्पादन गरिरहेको छु”, महतोले भने ।

    शुरुमा पढाइपछिको फुर्सदको समयमा बुबाआमालाई खेतीमा सघाउने गर्दागर्दै तरकारीखेती गर्न सिकेको उनले सुनाए । “पहिला बाउबाजेले गरेको देखेरै सिकेको हो,” उनले भने, “पढाइबाट फुर्सद हुने बित्तिकै आमाबुबाले खेतमा काम लगाउँथे । पछि बुबाले एउटा छोराले कम्तीमा जेटिए पढे हुन्थ्यो भन्ने धारणा राखे । आफूलाई पनि खेतीपातीतर्फ लगाव बढ्यो यतै लागियो । परिवारसँगै बसेर तरकारी बेचेर विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ ।”

    महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको सुनाए ।

    “तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको रु. दुई लाखसम्म आम्दानी गरेको अनुभव छ”, उनले भने, “गत वर्ष ‘अफ सिजन’मा सिमी निकाले दुईदेखि तीन हप्तामा रु. ६०/७० हजारसम्म भयो । सबै तरकारी बेच्दा महिनाको रु. दुई लाखसम्म आम्दानी भयो ।”

    तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदूरी, ढुवानी खर्च सबै कटाएर रु. दस लाखसम्म बचत गर्ने गरेको महतोका भनाइ छ ।

    यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उनको भनाइ छ । मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको उल्लेख गरे ।

    राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार छ सय ६२ परिवारले तीन हजार आठ सय ४२ दशमलव सात हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् ।

    यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ ।


    प्रकाशित : सोमबार, मंसिर २९ २०८२०९:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार