काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको २२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बौद्ध, काठमाडौंमा, हालै कम्पनीका अध्यक्ष सुशीलकुमार अर्यालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिबेदनसहित २०८२ असारमसान्त सम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धका साथै विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १५.७८९५% का दरले हुने रकम रु. १८,६८,६४,१४७/२३ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी रु. २,००,००,००,०००/०० रहेको छ भने जारी पूँजी रु. १,१८,३४,७०,९६०/०० र चुक्ता पूँजी पनि रु. १,१८,३४,७०,९६०/०० नै हुन गएको छ ।
चालु आ.व.मा फाइनान्सले रु. १७ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ भने फाइनान्सको निक्षेप रकम रु. २० अर्ब ६६ करोड रहन गइ वासलात आकार रु. २३ अर्ब ६३ करोड कायम भएको छ ।
त्यसैगरी आ.व. २०८२ मा कम्पनीको खुद मुनाफा रु. ३३ करोड ३१ लाख भएको साधारणसभामा जानकारी गराइएको थियो ।
समग्रमा कम्पनीले चालु आ.व.मा कर्जा, निक्षेप, मुनाफामा वृद्धि हासिल नै गरेको छ भने शेयरधनीहरुबाट आएका विभिन्न जिज्ञासाको समाधान कम्पनी अध्यक्ष अर्याल र प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले गरेका थिए ।
यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो । हाल कम्पनीको केन्द्रिय कार्यालय थिरबम सडक, भाटभटेनी, काठमाडौं रहेको छ भने मुलुकको ४ प्रदेशका २१ शाखाबाट कम्पनीले बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

