
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, थिरबम सडक, नक्सालमा कम्पनीका अध्यक्ष सिताराम थपलियाको सभापतित्वमा शुक्रवार सम्पन्न सो साधारणसभाले कम्पनीको संचालक समितिद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिबेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सन हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धका साथै विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु. १,२८,४३,७२,२८५ को २.१०५% को दरले हुने रकम रु. २,७०,३९,४१६।५३ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यसैगरी चुक्ता पूँजीको ४०% ले हुन आउने रकम रु. ५१,३७,४८,९१४ बोनस शेयर वितरण गर्ने कम्पनीले जनाएको छ । चालु आ.व.मा कम्पनीको अधिकृत पूँजी ५,००,००,००,०००।०० रहेको छ भने जारी पूँजी १,२८,४३,७२,२८५।०० भइ चुक्ता पूँजी पनि १,२८,४३,७२,२८५।०० नै कायम भएको छ ।
चालु आ.व.मा कम्पनीको आम्दानीमा वृद्धि भइ १ अर्ब ९३ करोड ७९ लाख ३९ हजार १४९ रुपैयाँ भएको छ भने कम्पनीको संचित मुनाफा तर्फ ७२ करोड ५३ लाख ७३ हजार १६८ रुपैयाँ हुन गइ अन्य संचितितर्फ १ अर्ब २६ करोड ४१ लाख २८ हजार ४११ रुपैयाँ कायम हुन गएको साधारणसभामा जानकारी दिइएको थियो ।
यसैगरी साधारणसभामा शेयरधनीहरुद्वारा सोधिएका विभिन्न सवालहरुको जवाफ कम्पनी अध्यक्ष थपलिया र प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले दिएका थिए । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


