२०८३, कार्तिक १५ गते आइतबार

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालन

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालन


  • मेरोभ्यूज
  • पौष १४, २०८२ सोमबार

  • देवघाटको विद्युतीय शवदाह गृह सञ्चालन

     

    चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको हो ।

    महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । हालसम्म शव नआएकाले सञ्चालन भने हुन सकेको छैन ।

    उनका अनुसार नौ जना कर्मचारी दुई चरणमा रहने गरी खटाइएको छ । एक इलेक्ट्रिसियन, चार नगर प्रहरी र चार सरसफाइकर्मी गृह सञ्चालनका लागि खटाइएको हो ।

    महानगरपालिकाले शवदाहका लागि १६ जनालाई तालिम दिएको थियो । तीमध्येबाट नौ जना व्यवस्थापनमा जुटेका हुन् ।

    थपलियाले शवदाह गृह सञ्चालनमा रहेको जानकारी भइनसकेकाले शव नआएको बताए । उनका अनुसार आम नागरिकलाई जानकारी भएसँगै क्रमशः शव आउने छन् ।

    एउटा शव दहनका लागि रु. तीन हजार पाच सय शुल्क लाग्नेछ । दाउराबाट शव दहन गर्नुभन्दा । झण्डै आधा सस्तो पर्ने गर्दछ । करिब ४५ मिनेटदेखि एक घण्टाभित्रमा शव दहन हुने भएकोले समयको समेत बचत हुने थपलिया बताउँछन् ।

    वातावरण र सरसफाइमा समेत सहयोगी हुने उनको भनाइ छ । महानगरपालिकाले उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । महानगर प्रमुख रेनु दाहालले शहरी विकास मन्त्रालयसँग आग्रह गरी निर्माण गरिएको विद्युतीय शवदाह गृहमा शव दहन गरी वातावरण संरक्षणमा योगदान दिन सबैलाई आग्रह गरेको छ ।

    सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको हो । वि.सं. २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटक-पटक मिति थप हुँदै निर्माण गरिएको हो ।

    गृहमा दुई शवदाह गर्ने मेसिन जडान गरिएको छ । शव राख्नुपर्दा चार शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

    वर्षातमा पानीको सतह माथि आएकोले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताए ।

    उनका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् ।

    ती शव अन्त्येष्टी गर्न अहिले एक महिनामा रु. दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ ।

    विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उनको भनाइ छ । वर्षातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उनले बताए ।

    शहरी विकास कार्यालयले रु. ११ करोड २१ लाख आठ हजार छ सय ४१ मा शवदाह गृह निर्माण गरेको हो ।


    प्रकाशित : सोमबार, पौष १४ २०८२११:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार