२०८३, कार्तिक ११ गते बुधबार

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण


  • मेरोभ्यूज
  • पौष १५, २०८२ मंगलबार

  • धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

     

    बाँके । बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आएको छ ।

    कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा चौधरीले विगत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गर्दै आएको छ । यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धानखेतीबाट ४० क्विन्टल कालानमक धान उत्पादन भएको गङ्गानारायणले जानकारी दिए ।

    “उत्पादन अझ धेरै हुने अनुमान गरिए पनि अन्य धान स्याहारी सकेकोले कालानमक धानमा चरा, मुसा र किराको सङ्क्रमण बढेर समस्या भयो”, उनले भने, “करिब छ महिनामा तयार हुने भएकोले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ ।” यसको उत्पादनमै बढी खर्च लाग्ने भएकोले मूल्य महङ्गो पर्ने गरेको छ ।

    यो धान असारमा रोपेपछि मंसिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ ।

    सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकोले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको कृषक चौधरीले जानकारी दिए ।

    कालानमक चामल बिक्रीमा भने समस्या छैन । बजारमा लैजाना साथ राम्रो मूल्यमा बिक्री हुने चौधरीले बताए । अन्य धानको दर करिब रु. तीन हजार पाच सय क्विन्टल हुँदा कालानमक भने प्रति क्विन्टल रु. दस हजारमा बिक्री हुने गरेको छ ।

    बाँकेमा किसानले रैथाने धानको तुलनामा धेरै फल्ने र छिट्टै पाक्ने रामधान, राधा ४, एमपी ६०, गोरखनाथलगायतको हाइब्रिड धान रोप्दै आएका छन् । किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत रैथाने कालानमक धानको जात हराउँदै गएको छ ।

    लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि यो धान लोप हुने अवस्थामा पुगेको हो ।

    सिँचाइ र स्याहार सुसार बढी गर्नुपर्ने र रोग तथा कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरु यसको साटो हाइब्रिड धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।

    उनका अनुसार ‘भिआइपी’देखि पर्यटकहरूको रोजाइ भए पनि लागतअनुसार कम उत्पादन हुने भएकोले कृषकहरू कालानमक धानको साटो अन्य धान लगाउन थालेका हुन् ।

    मसिनो र बास्नादारको सुचीमा पर्ने यो धान कालो भएकोले यसलाई कालानमक भनिएको हो । यो करिब एक सय ४० दिनमा तयार हुन्छ ।

    “विगतमा बाँके र बर्दियामा यसको खेती हुन्थ्यो, तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे”, सूचना अधिकारी पाठकले भने, “कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रवर्द्धन र प्रचारमा लागेका छौँ ।”

    बाँकेमा परम्परागत रैथाने धानको जात कालानमक संरक्षणको लागि कृषि ज्ञान केन्द्रले कृषकस्तरमा लगाएर प्रचार-प्रसारको थालनी गरेको छ ।

    कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ–८ टिटिहिरियामा प्रयोग गरिएको उनको भनाइ छ ।


    प्रकाशित : मंगलबार, पौष १५ २०८२११:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार