२०८३, कार्तिक १५ गते आइतबार

सुस्त रेशम उद्योग ब्युँतिँदै, वार्षिक पाँच खर्बको आम्दानी सम्भावनालाई पुनर्जीवन दिने तयारी

सुस्त रेशम उद्योग ब्युँतिँदै, वार्षिक पाँच खर्बको आम्दानी सम्भावनालाई पुनर्जीवन दिने तयारी


  • मेरोभ्यूज
  • पौष २१, २०८२ सोमबार

  • सुस्त रेशम उद्योग ब्युँतिँदै, वार्षिक पाँच खर्बको आम्दानी सम्भावनालाई पुनर्जीवन दिने तयारी

    काठमाडौं । नेपालको परम्परागत तर निकै समयदेखि उपेक्षित रेशम उद्योगलाई पुनर्जीवन दिँदै रणनीतिक र दिगो राष्ट्रिय उद्योगका रूपमा स्थापित गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा राष्ट्रिय रेशम सम्मेलन आयोजना हुने भएको छ । आज सम्पन्न पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराईएको हो ।

    ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा यही पुस २६ गते सम्मेलन हुन लागेको हो । आयोजकका अनुसार रेशम उद्योग पुनःजागरणमार्फत कृषि, उद्योग र निर्यातलाई एउटै मूल्य शृङ्खलामा जोड्ने लक्ष्य लिइएको छ ।

    ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशकुमार पोखरेलले नेपालको रेशम उद्योग सम्भावनाको अभावका कारण होइन, दीर्घकालीन उपेक्षा, विखण्डित प्रयास र लगानीको कमीका कारण पछाडि परेको बताए । उनका अनुसार विश्व बजारमा दिगो र प्राकृतिक वस्त्रको माग तीव्र रूपमा बढिरहेको सन्दर्भमा अब रेशम उद्योगलाई वेवास्ता गर्न नहुने अवस्था सिर्जना भएको छ ।

    सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवासीय नेपाली, विकास साझेदार, कृषक, सहकारी, उद्यमी तथा निर्यातकर्तालाई एउटै राष्ट्रिय मञ्चमा एकत्रित गरिनेछ । सम्मेलनको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले गर्ने कार्यक्रम रहेको छ ।

    रेशम विश्वकै उच्च मूल्य हुने कृषि–औद्योगिक उत्पादनहरूमध्ये एक मानिन्छ । अध्यक्ष पोखरेलले रेशम उद्योगबाट उच्च आम्दानी, न्यून कार्बन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी सिर्जना र मूल्य अभिवृद्धि भएको निर्यात सम्भव हुने बताए । 

    २२ हजार हेक्टर किम्बु खेतीबाट पाँच खर्बको सम्भावना
    आयोजक संस्थाका अनुसार करिब २२ हजार हेक्टर क्षेत्रमा किम्बु (मुलबेरी_ खेती, त्यससँगै रेशम किरा पालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृत रूपमा विकास गर्न सकेमा वार्षिक करिब पाँच खर्ब रुपैयाँ बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको छ ।

    हाल एकीकृत मूल्य शृङ्खलाको अभाव, नीतिगत प्राथमिकता नपाइनु, वित्तीय पहुँच र बीमाको कमी, प्रविधि तथा सीप अभाव, साथै बजार र निर्यात संयन्त्र कमजोर भएकै कारण रेशम उद्योग सङ्कटतर्फ उन्मुख भएको अध्यक्ष पोखरेलको भनाइ छ ।

    १० वर्षे ‘नेपाल रेशम भिजन’ र नयाँ साझेदारीमा छलफल
    यी समस्याप्रति सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको आयोजकले जनाएका छन् । सम्मेलनमा १० वर्षे राष्ट्रिय रेशम विकास ढाँचा (२०२६–२०३५) अवलम्बन, क्लस्टरमा आधारित किम्बु खेती र रेशम किरा पालन, विशेष वित्तीय, व्यापारिक तथा बीमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, साथै एकीकृत ‘नेपाल सिल्क’ ब्रान्डिङ र बजार पहुँचका विषयमा गहन छलफल हुनेछ ।

    Ramlal Shrestha.jpg

    ह्याण्डलुम फ्याब्रिक्सका उपाध्यक्ष रामलाल श्रेष्ठका अनुसार सम्मेलनबाट रेशम उद्योगलाई रणनीतिक राष्ट्रिय उद्योगको मान्यता, सरकारका लागि नीतिगत सिफारिस, लगानी तथा वित्तीय प्रतिबद्धता, किसान–सहकारी–लगानीकर्ता–निर्यातकर्ताबीच नयाँ साझेदारी, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामार्फत जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।


    प्रकाशित : सोमबार, पौष २१ २०८२०९:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार