म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा सय वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुन:निर्माण भएको छ ।
सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुन:निर्माण गरेका हुन् । पुन:निर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।
बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले वि.सं. १९३० को दशकमा स्थापना र १९८० को दशकमा निर्माण भएको गणेश मन्दिरलाई गुठियार र नगरपालिकाको करिब रु. २० लाख २५ हजार लगानीमा पुन:निर्माण गरिएको जानकारी दिए ।
“पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छाना पित्तलले छाइएको छ”, उनले भने, “बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु. छ लाख अनुदान उपलब्ध गराएको थियो । समुदायले अनुदानभन्दा बढी सहयोग जुटाएका छन् ।”
हालसम्म रु. १९ लाख ९३ हजार सात सय ९५ खर्च, रु. १७ लाख ६९ हजार नौ सय ७४ आम्दानी र रु. दुई लाख २३ हजार आठ सय २१ भुक्तानी दिन बाँकी रहेको निर्माण समितिका किशोर श्रेष्ठले बताए ।
मन्दिरको वरपर राखिएको बत्ती बाल्ने दियोको खर्च जोड्दा कूल रु. २० लाख २५ हजार पुग्ने उनले बताए ।
बेनीका स्व. मोतिकुमार श्रेष्ठले गुठी स्थापना गरेर गणेश मन्दिर बनाएको थियो । मन्दिर जीर्ण भएपछि निर्माणकर्ता मोतिकुमारका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारीलगायत परिवारसँग समन्वय गरेर पुन:निर्माण गरिएको हो ।
मन्दिर पुन:निर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरुको योगदान बढी छ । प्रत्येक दिन नित्य पूजा हुने गणेश मन्दिरमा गणेशचौथी र मङ्गलचौथी तिथिमा विशेष पूजाआजा हुने गर्छ ।
पुन:निर्माण सकिएपछि यसै हप्ता हिन्दू धर्मावलम्बीहरुको भगवान् गणेशको मूर्तिको प्राणप्रतिष्ठा गरेर नियमित पूजाआजा शुरु गरिएको छ ।
यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । बेनी बजारमा हरेक वर्षको घण्टाकर्ण चतुर्थीदेखि हरितालिका तीजसम्म देखाइने बर्खे नाचको समापन यही गणेश मन्दिर परिसरमा गरिन्छ ।
गणेश मन्दिर बेनी बजारको पुरानो धार्मिकस्थल हो । बेनी भ्रमणमा आउने पाहुना र पर्यटकका लागि गणेश मन्दिर र नजिकैको बेनीकोत आकर्षण हो ।

