
काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष लालबहादुर बमको सभापतित्वमा काठमाडौं, शङ्खमूलमा आइतबार सम्पन्न सो साधारणसभाले कम्पनीको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाले आ.व. २०८१/०८२ को वासलात, नाफा/नोक्सान हिसाबको साथमा विभिन्न वित्तीय प्रतिवेदनहरू पारित गरेको छ भने आ.व. २०८२ /०८३ को लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको अलवा विभिन्न विशेष प्रस्तावहरूसमेत साधारणसभामा पारित भएका छन् ।
कम्पनीले निकट भविष्यमै आइपिओ जारी गर्नेसमेत साधारणसभामा जानकारी गराएको छ ।
हाल कम्पनीको अधिकृत पूँजी रु. ५०,००,००,०००।०० रहेको छ भने जारी पूँजी रु. ३५,००,००,०००।०० भइ चुक्ता पूँजी रु १९,४६,९८,०००।०० कायम भएको छ ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकास्थित भएर बहने गण्डीगाडमा १.५५ मे.वा. क्षमताको माथिल्लो गड्डीगाड जलविद्युत आयोजना हालै सम्पन्न भएको समेत साधारणसभामा जानकारी गराइएको थियो ।
साधारणसभामा उपस्थित शेरधनीहरूद्वारा उठाइएका विभिन्न सवालहरूको समाधान कम्पनीका अध्यक्ष बम, प्रबन्ध सञ्चालक जगदिशबहादुर पाललगायतले गरेका थिए ।
यसै बीच कम्पनीबारे अन्य विविध जानकारीहरू दिँदै साधारणसभा सम्पन्न भएको थियो । हाल शैलेश्वरी पावर नेपाल लिमिटेडको केन्द्रीय कार्यालय भने शङ्खमूल, काठमाडौंमा रहेको छ ।


