२०८३, कार्तिक १५ गते आइतबार

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह


  • मेरोभ्यूज
  • फाल्गुण २०, २०८२ बुधबार

  • आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

     

    दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

    आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहल-पहल बढ्दै गएको छ । दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो ।

    सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ ।

    लुम्बिनी प्रदेशको एउटा नमूनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ ।

    तुलसीपुर उपमहानगरपालिका–१७ का सीता पन्थी साथीहरुसँग बाह्रकुने दह घुम्न आएकी भेटिए । टोलका आमासमूहबाट रमाइलो गरौँ भनेर वनभोज खान बाह्रकुने आएकी उनले बताइन् ।

    “तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए, घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन यहाँ आउँदा धेरै रमाइलो लाग्यो”, पन्थीले भनिन्, “वनभोज खाने, नाचगान गरेर रमाइलो गर्नेको भिडभाड नै हुने रैछ । यहाँको मन्दिर वरिपरिको वातावरण रमाइलो रहेछ, मन्दिर छेउमा रहेको तालमा डुङ्गा सयर गर्दा झनै आनन्द आयो ।” तालमा माछालाई चारो हाल्दा झन मज्जा आएको उनले बताइन् ।

    घोराही उपमहानगरपालिका–१८ का मूना पोखरेल पनि शनिबार विद्यार्थी लिएर बाह्रकुने आएकी बताइन् । घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भएर होला धेरै भिडभाड भएको उनले बताइन् । वनभोज खानेको उपस्थिति झनै धेरै देखियो ।

    बाह्रै महिना यहाँ भक्तजनको भिडभाड हुने गर्छ त्यसमा पनि मंसिरदेखि माघमा यहाँ धेरै भक्तजन आउने गरेको बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिए ।

    उनले भने, “बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन आउने गर्दछन्, माघेसङ्क्रान्तिको दिन ठूलो मेला लाग्ने गर्दछ ।”

    त्यहाँ विशेषगरी निःसन्तान दम्पती सन्तानका लागि बर माग्न आउने गर्दछन् । यहाँ अन्य समयमाभन्दा माघेसङ्क्रान्तिमा निकै भिडभाड हुने गर्दछ ।

    यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेको छ । त्यहाँ भेँडा र भालेको बलि दिइन्छ भने परेवा उडाउने गरिन्छ ।

    ज्यामिरेमा डुङ्गा सरर

    बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउने गरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ्ग पुनले जानकारी दिए ।

    जङ्गलबीचमा सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटक आउने गरेको पुनले बताए ।

    उनका अनुसार पछिल्लो समय दैनिक सरदर दुई सयदेखि तीन सय जनासम्म घुम्न आउने गरेका छन् ।

    मंसिरदेखि वैशाख महिनासम्म बढी भिड हुने गरेको उनको भनाइ छ । विगत तीन वर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आएका पुनले डुङ्गा चलाएरै मासिक रु. १५ देखि रु. २० हजारसम्म आम्दानी हुने गरेको सुनाए ।

    उनका अनुसार पछिल्लो समय डुङ्गा सवार गर्ने र वनभोज खान दैनिकरूपमा मानिस आउने गरेका छन् । डुङ्गामा चढ्न एक जनाको रु. एक सय टिकटको व्यवस्था गरिएको छ । डुङ्गामा घुम्नका लागि १५ मिनेटदेखि २० मिनेटसम्म समय लाग्ने गरेको चालक पुनले बताए ।

    “सानो पोखरीलाई विस्तारसँगै डुङ्गा राखेर पर्यटक तान्ने काम भएको छ”, उनले भने, “ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ ।”


    प्रकाशित : बुधबार, फाल्गुण २० २०८२१०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार