म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दूरीको सो सडकमा पहिलो पटक सवारीसाधन सञ्चालन भएको छ ।
म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी–जलजला–गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा ट्रयाक (मार्ग) खुलेको सडक प्रयोग गरेर धवलागिरी गाउँपालिकाको बा१झ ७०७ नम्बरको गाडी पहिलो पटक ढोरपाटन पुगेको हो ।
धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशम पुन मगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, योजना अधिकृत हरिहर पनेरु, पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावल र प्राविधिक जनक धानुकको टोली मुनादेखि नयाँ सडक प्रयोग गरेर ढोरपाटन पुगेको हो ।
“बेनीदेखि ७५ कि.मी.को दूरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरी गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रुपमा लिएका छौं,” उनले भने “बागलुङदेखि ढोरपाटन जोड्ने सडकको तुलनामा आधा भन्दा धेरै छोटो यो सडक पूर्वी रुकुमसँग जोडिएपछि मध्य पहाडी लोकमार्गको बागलुङखण्डको विकल्प बन्न सक्छ ।”
मध्यपहाडी लोकमार्गको बागलुङखण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक काठमाडौं र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दूरीको सडक पनि हो ।
हाल प्रयोगमा आइरहेको बागलुङदेखि ढोरपाटन जोड्ने सडकको दूरी एक सय २६ कि.मी. छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले बिनियोजन गरेको रु. पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरी गाउँपालिका–२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्रयाक खुलेको छ ।
मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ गत असारमा निर्माण भएको नौ कि.मी. सडक हालै मर्मत गरेर सवारीसाधन सञ्चालन गर्ने बनाइएको हो । घुम्ती र ग्रेड सुधार गर्न बाँकी यो सडकमा पर्ने तीन हजार मिटर भन्दा बढी उचाइको जलजला क्षेत्रमा हिउँ नपरेको अवस्था जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन गर्न सकिने उपाध्यक्ष पुनले जानकारी दिए ।
मुनादेखि तल्लो जलजलाको दूरी १४ कि.मी. छ । ढोरपाटनबाट जलजला जोड्ने १० कि.मी. कच्ची सडक यसअघिनै जोडिएको थियो । मुना–जलजला–ढोरपाटनखण्डमा पर्ने खोलाहरुमा मोटरेबल पुल नभएकाले बर्खामा यातायात सञ्चालन गर्न समस्या छ ।
बेनीदेखि वि.सं. २०५५ मा यो सडक निर्माण शुरु भएको थियो । बेनीदेखि मुना–खोरीया–मरेनी हुँदै जलजला करिब ६४ कि.मी. सडकको मार्ग खुलेको हो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खुलेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० कि.मी. दूरी छोटिने जानकारी दिए ।
उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्छ ।
धवलागिरी–२ खोरियामा छ वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ कि.मी.को विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले चार वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेका थिए ।
बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नती गर्न दुईवटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफलाइन मानिएको यो सडकको स्तरोन्नती र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।
पूर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष हो ।
विश्वभरका शाहासी शिकारीहरुको गन्तब्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकहरुको पनि रोजाइमा परेको छ ।
यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिकलगायत धेरै अवसरहरु छन् ।

