२०८३, कार्तिक ११ गते बुधबार

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान


  • मेरोभ्यूज
  • चैत्र १३, २०८२ शुक्रबार

  • राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

     

    कञ्चनपुर । जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ ।

    बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।

    इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले बताए ।

    उनका अनुसार प्रविधि जडानमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ ।

    नदीमा जडान गरिएको रडार लेभल सेन्सरले नदीको जलस्तरको वास्तविक तथ्याङ्क (रियल टाइम डाटा) सङ्कलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले जानकारी दिए ।

    “यसबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्व सूचना समयमा प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधनको सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ”, उनले भने ।

    सेन्सर जडान भएपछि बेदकोटसँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका क्षेत्रका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समयमा बाढीबारे सचेत गराउन मद्दत पुग्ने संयोजक सुनारले बताए ।

    “अहिले प्रविधि जडान मात्रै गरिएको छ”, उनले भने, “यसलाई जल तथा मौसम विज्ञानको प्रणालीमा आबद्ध गर्ने कार्य वर्षा शुरु हुनुअगावै पूरा हुन्छ । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटबाट प्रत्यक्ष हेर्न सकिनेछ ।”

    बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए ।

    यस कार्यले स्थानीय समुदायलाई बाढीबाट हुनसक्ने क्षति कम गर्न र विपद् व्यवस्थापनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।


    प्रकाशित : शुक्रबार, चैत्र १३ २०८२०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार