२०८३, कार्तिक ११ गते बुधबार

म्याग्दीमा रु. ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दीमा रु. ३१ करोड ६० लाखको सुन्तला उत्पादन


  • मेरोभ्यूज
  • चैत्र २९, २०८२ आइतबार

  • म्याग्दीमा रु. ३१ करोड ६० लाखको सुन्तला उत्पादन

     

    म्याग्दी । यस वर्ष म्याग्दीमा रु. ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

    सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । चार सय ३० हेक्टर क्षेत्रफलमा प्रति हेक्टर दस दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार पाच सय १५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

    जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।

    “चार सय ३० हेक्टर जमिनको बगैँचामा सुन्तला उत्पादन भएको छ,” उनले भने “किसानले सरदर प्रतिकिलो रु. ७० का दरले रु. ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।”

    म्याग्दीको आठ सय ३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको छ । गत वर्ष चार सय २५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार सात सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष रु. ३४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।

    गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको हो । यस वर्ष विभिन्न रोगकिराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बाँस्तोलाले बताए ।

    “यस वर्ष मौसमले साथ दिएको हो । रोगकिरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपाली दाना कम लागेको छ”, बाँस्तोलाले भने, “एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।”

    सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । गतवर्ष प्रतिकिलो रु. ६५ का दरले सुन्तला बेचेका किसानले यस वर्ष प्रतिकिलो रु. पाँच बढी मूल्यमा बिक्री गरेका छन् ।

    राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् ।

    जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायत बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीले बताए । गिरीले आफ्नो बगैँचाबाट यस वर्ष रु. ११ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताए ।

    यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।


    प्रकाशित : आइतबार, चैत्र २९ २०८२०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार