२०८३, कार्तिक १२ गते बिहीबार

आम्दानीको स्रोत बन्यो अटो रिक्सा : मासिक रु. ४० हजार आम्दानी

आम्दानीको स्रोत बन्यो अटो रिक्सा : मासिक रु. ४० हजार आम्दानी


  • मेरोभ्यूज
  • बैशाख २, २०८३ बुधबार

  • आम्दानीको स्रोत बन्यो अटो रिक्सा : मासिक रु. ४० हजार आम्दानी

     

    म्याग्दी । म्याग्दीमा अटो रिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु. ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् ।

    पछिल्लो समय अटो रिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव रेग्मीले बताए ।

    अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक सुमन रिजाल बताउँछन् ।

    बेनी नगरपालिका–२ बगरफाँटका रिजालले अटो रिक्सा चलाएर मासिक रु. ४० देखि ४५ हजारसम्म आम्दानी गर्दै आएको बताए ।

    विदेश गएर अरुको देशमा श्रम गर्नुभन्दा आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने मनसायले अटो व्यवसायमा लागेको उनको भनाइ छ । अटो चलाएर प्राप्त हुने आम्दानीबाट उनी सन्तुष्ट छन् ।

    “मैले बेनी बजार र नगरपालिका क्षेत्रमा अटो रिक्सा चलाउँदै आएको छु, दैनिक दुई हजार पाँच सयदेखि तीन हजार कमाइ हुन्छ”, उनले भने, “सबै खर्च कटाएर दैनिक एक हजार पाच सय बचत हुन्छ, यसमा धेरै खर्च पनि हुँदैन, यसमै सन्तुष्ट छु ।”

    तीन वर्षअघि रु. तीन लाख ८० हजारमा अटो रिक्सा किनेका बेनी नगरपालिका–२ फापरखेतका कालु सापकोटा पनि यसबाट प्राप्त हुने कमाइले सन्तुष्ट छन् ।

    सेवा पनि हुने र फाइदा पनि हुने यो व्यवसायप्रति पछिल्लो समय युवाहरूको आकर्षण बढेकाले अहिले अटो रिक्सा धेरै हुँदा पहिलाको तुलनामा कमाइ घटेको भए पनि अरु व्यवसायमा भन्दा राम्रै रहेको उनको भनाइ छ ।

    “शुरुशुरुमा अटो रिक्सा कमै थिए, दैनिक तीन हजार पाच सयदेखि पाँच हजारसम्म पनि कमाइ हुन्थ्योँ”, उनले भने, “अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, घर खर्च र अन्य भइपरि आउने खर्च यसैबाट चलेको छ, अलिअलि बचत पनि भएकै छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।”

    अर्का अटो चालक वसन्त रेग्मीले पनि अटो चलाएर राम्रो आम्दानी गरेको छ ।

    मासिकरूपमा ३० हजार बढी बचत गर्न सफल रेग्मी वैदेशिक रोजगारीबाट फर्केर अटो रिक्सा चलाउन थालेको हो ।

    उनले भने, “घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नुपरेको छैन, यसैमा सन्तुष्ट छु ।”

    जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उनको भनाइ छ ।

    बेनी नगरपालिकाले नगरपालिकाका दसवटा वडाभित्र सञ्चालन गर्न पाउनेगरी अनुदानमा समेत अटो रिक्सा वितरण गरेपछि यहाँ अटो चल्न शुरु गरेको हो ।

    पहाडी भूगोल भए पनि कालोपत्र भएको सडकभित्र अटो रिक्सा सञ्चालन भएका छन् ।

    नगरपालिका क्षेत्रभित्र ३० वटा अटो सञ्चालन हुनेगरेका बेनी नगरपालिकाले जनाएको छ ।


    प्रकाशित : बुधबार, बैशाख २ २०८३०८:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार