काठमाडौं । रिभर फल्स पावर लिमिटेडको नवौँ तथा दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नक्साल, काठमाडौंमा शुक्रबार कम्पनीका अध्यक्ष सुभाष अमात्यको सभापतित्वमा सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष अमात्यद्वारा प्रस्तुत आ.व. २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
आ.व. २०८०/०८१ र आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरू साधारण सभाले पारित गरेको छ भने आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धको साथमा निर्वाचनसम्बन्धसमेत साधारण सभामा पारित भएका छन् ।
साधारण सभामा जनाइए अनुसार आ.व. २०८१/०८२ को अधिकृत पूँजी १,४०,००,००,०००।०० जारी पूँजी १,४०,००,००,०००।०० नै रहेको छ भने चुक्ता पूँजी ७०,००,००,०००।०० रहेको छ । आ.व. २०८०/०८१ मा विद्युत बिक्रीबाट कम्पनीले रु. ३०,१५,१४,७५३।०० अम्दानी गरेको र खर्च रु. २३,८२,९४,४४६।०० हुन गएको छ भने आ.व. २०८१/०८२ मा रु. २६,०९,४७,४७०।०० आम्दानी भइ खर्च रु. २५,५०,६८,१०७।०० हुन गएको कम्पनी ले जनाएको छ ।
साथै कम्पनीले जनाए अनुसार आ.व. २०८२/०८३ चैत मसान्तसम्म कम्पनीको कर्जा १,१६,११,०५,५०६।८३ रहने छ ।
त्यसैगरी साधारण सभामा शेयर सदस्यहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष अमात्य तथा अन्य पदाधिकारीहरूले दिएका थिए भने साधारण सभाले सञ्चालक सदस्यहरूमा रेलिजा श्रेष्ठ र शैलेश श्रेष्ठ निर्वाचित गर्दै केही पुराना सञ्चालकहरूसमेत निर्वाचित गरेको छ ।
साथै कम्पनीले आगामी साधारण सभामा लाभांश वितरण गर्ने घोषणासमेत गर्दै विभिन्न कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।
यसैगरी कम्पनीको त्रिशुली क्यास्केड पावर प्रा.लि. अन्तर्गत माथिल्लो त्रिशुली-१ क्यास्केड जलविद्युत आयोजना (२४.६ मे.वा.) र बेयुल इनर्जी नेपाल लिमिटेड अन्तर्गत मर्स्याङ्दी जलविद्युत आयोजना (५० मे.वा.) मा समेत लगानी रहेको छ ।

