काठमाडौं । मेरो किसान लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सिनामङ्गल, काठमाडौंमा सोमबार कम्पनीका अध्यक्ष विष्णुमणि गौतमको सभापतित्वमा सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष गौतमद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८२ को वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेसम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरूसमेत साधारण सभामा पारित भएका छन् ।
किसान र उपभोक्ताबीच भएको दूरी कम गर्ने उद्देश्यले सञ्चालनमा आएको सो कम्पनीले हाल ५०० भन्दा बढी किसानहरूसँग प्रत्यक्ष रुपमा सहकार्य गर्दै उनीहरूको उत्पादनलाई बजारसम्म पहुँच गराउने, उचित मूल्य सुनिश्चित गर्ने तथा उपभोक्तालाई ताजा र गुणस्तरीय कृषि सेवा प्रदान गर्ने कार्य गरिरहेको साधारण सभामा जानकारी दिइयो ।
भविष्यको विस्तार योजनाअन्तर्गत कम्पनीले चितवन जिल्लाको पटिहानी क्षेत्रमा करिब ३ बिघा भन्दा बढीजग्गा खरिद गरी डेरी उद्योग, एफएमसीजी कृषि प्रशोधन केन्द्र तथा कोल्ड स्टोर स्थापना गर्ने परियोजना कार्यान्वयन गरिरहेको समेत साधारण सभामा जानकारी दिइएको थियो ।
त्यसैगरी कम्पनीले ३०० भन्दा बढी प्रकारका ताजा फलफूल तथा तरकारी हाम्रो डिजिटल प्लेटफर्म वेबसाइट र मोबाइल एपमार्फत उपभोक्ताको घर दैलोसम्म पुर्याउँदै आएको समेत कम्पनीले जनाएको छ ।
यसैगरी काठमाडौं वरिपरिका जिल्लाहरू भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, चितवनलगायतका जिल्लाहरूमा कृषकहरूको भरोसाको रूपमा कम्पनी विकसित हुँदै गइरहेको समेत साधारण सभामा बताइएको थियो ।
कम्पनीले बिउ उत्पादन, बाली संकलन, भण्डारण तथा वितरणसम्मको सम्पूर्ण श्रृङ्खलामा किसानहरूसँग प्रत्यक्ष सहकार्य गर्दै डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म उत्पादन पुर्याउने काम गर्दै आइरहेको समेत जानकारी दिइएको थियो ।
यसैगरी कम्पनीले मेरो किसान मार्टसमेत सञ्चालनमा ल्याउने जनाएको छ । जसअन्तर्गत काठमाडौंमा २ र ललितपुरमा १ वटा मार्ट स्थापना गरिने भएको छ । जडीबुटी फलफूल अन्नलगायतको उत्पादनहरूलाई आधुनिककरण गर्दै बजारसम्म पुर्याइ उपभोक्ताको सेवा गर्ने उद्देश्य कम्पनीको रहेको छ ।
साधारण सभामा शेयर धनीहरूद्वारा उठाइएका विभिन्न जिज्ञासाहरूको समाधान अध्यक्ष गौतम तथा कम्पनीका प्रबन्ध सञ्चालक अविनाश सिलवालले गरेका थिए ।
विभिन्न कृषि संघ/संस्थाका महानुभावहरू कृषि विज्ञलगायतको उपस्थिति साधारण सभामा रहेको थियो ।

