२०८३, कार्तिक ११ गते बुधबार

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान


  • मेरोभ्यूज
  • आषाढ २८, २०८३ आइतबार

  • घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

     

    म्याग्दी । वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरविर आवाज । घरपालुवा पशुहरुको घुम्ती गोठ ।

    म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको दोभान मनमोहक र रमणीय छ । करिब २० वर्षअघि बगरका बासिन्दाले बर्खायाममा घुम्ती पशुगोठ राख्ने थलोमा सीमित दोभान पछिल्लो समय धौलागिरि चक्रीय पदमार्गको गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

    समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभान पछिल्लो समय घुम्ती पशुगोठ राख्ने खर्कबाट पर्यटकीयस्थलमा रुपान्तरण भएको स्थानीयबासी लक्ष्मण घर्तीले बताए ।

    “धौलागिरि चौथोको फेदबाट बगेर आउने कुनावाङ र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदी मिसिने भएकाले दोभान नामाकरण भएको यो ठाउँ केही वर्षअघिसम्म खर्कमा सीमित थियो,” उनले भने, “धौलागिरि हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्ग भएर म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले एकरात दोभानमा बिताउन थालेपछि पर्यटकीयस्थलका रूपमा विकास भएको छ ।”

    दोभानदेखि एक दिनको पैदल यात्रापछि धौलागिरि हिमालको इटाली आधार शिविर र धौलागिरि चौथो हिमालको फेदमा रहेको कुनावाङ तालमा पुगिन्छ ।

    गोलो आकारको कुनावाङ तालमा पातपतिङ्गर खसेमा चराले टिपेर सफा गर्दै आएको स्थानीय सोम पुनले बताए ।

    “कुनावाङ क्षेत्रमा जापानी अनुसन्धानकर्ताले हिममानवको बासस्थानको पनि अध्ययन गरिरहेका छन्,” उनले भने “बगर हुँदै दोभान जोड्ने सडकको मार्ग खुलेपछि अझै चहल-पहल बढेको छ ।”

    दोभान नजिकैको पहाडमा मृग, झारल, घोरललगायत वन्यजन्तुको पनि अवलोकन गर्न पाइने पुनले बताए ।

    बस्तीदेखि टाढा रहेको दोभान प्रकृतिमा रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य भएको आन्तरिक पर्यटक चिरन्जिवी पौडेलले बताए ।

    बसन्तयाममा लालीगुराँस फुलेर रंगिने वनपाखामा बर्खामा बुकी फुल्दा झनै मनमोहक हुन्छ ।

    दोभानमा पर्यटकको सुविधाका लागि दुईवटा होटल छन् । त्यहाँ ५० जना बास बस्न सक्छन् । रातो च्याउ, निगालोको टुसाका परिकारको स्वाद लिन पाइन्छ ।

    म्याग्दी खोला जलविद्युत आयोजनाले बाँध निर्माणस्थल दोभानसम्म पहुँचमार्ग निर्माण गरेपछि त्यहाँ जीप र मोटरसाइकल पुग्न थालेका छन् ।

    धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माण स्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवत-जावत र ढुवानीमा सहज भएको छ ।

    यसअघि बगरदेखि दोभान पुग्न पुरै दिन भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्ने थियो ।

    बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । पछिल्लो समय विदेशी पर्यटकले मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि चहल-पहल घटेको दोभानमा यातायात सुविधा पुगेपछि आन्तरिक पर्यटक घुम्नका लागि आउन थालेका छन् ।


    प्रकाशित : आइतबार, आषाढ २८ २०८३०९:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार