२०८३, कार्तिक ११ गते बुधबार

भेडा बिक्री गरेर मौरीपालन

भेडा बिक्री गरेर मौरीपालन


  • मेरोभ्यूज
  • श्रावण १३, २०८३ बुधबार

  • भेडा बिक्री गरेर मौरीपालन

     

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१, गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका छन् ।

    घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।

    “हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुभन्दा घर वरपरकै बारीमा घार थापेर मौरीपालन गर्दा आफू र परिवारलाई सजिलो छ,” उनले भने, “हाल ८० वटा घार छन् । प्रतिलिटर रु. दुई हजारका दरले वार्षिक तीन सय लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्छु ।”

    छन्त्यालका बुबा र बाजेले परम्परागतरूपमा भेडापालन गर्दै आएका थिए ।

    रोजगारीको खोजीमा केही वर्ष खाडी मुलुक बिताएका रेशमले करिब १५ वर्ष गाउँमै भेडापालन गरेका थिए । उनले आठ वर्षअघि भेडा बेचेर मौरीपालन गर्न थालेका हुन् ।

    घरमै रहेको स्थानीय ‘एपी सेरेना’ जातको मौरीको चार/पाँच वटाबाट घार छुट्टाएर दुई सयवटासम्म बनाएको उनले बताए ।

    “जङ्गलमा महशिकार गरिने हावापानी र मौसम अनुकूल भएकाले मौरीपालनलाई रोजेको हो,” उनले भने, “मौरीको आनीबानीको बारेमा जानकार भएकाले घार विस्तार गर्न समस्या भएन ।”

    सामाजिक सञ्जाल ‘युट्युब’मा कृषि विज्ञहरूको भनाइबाट प्रभावित भएर मौरीपालन गरेका छन्त्यालले हालसम्म सरकारी निकाय तथा गैरसरकारी संस्थाबाट तालिम र अनुदान सुविधा नलिएको बताए । गुर्जाका साथै मौरी चराउन लाछावाङमा पनि लैजाने गरेको छ ।

    ग्राहक घरमै आउने भएकाले मह बिक्रीका लागि समस्या नभएको छन्त्यालले बताए । अधिक वर्षा र हिमपातका समयमा चरनको अभाव हुँदा मौरीलाई मह नै आहारा दिने गरेको छ । वरपरका वनजङ्गल र खेतबारी मौरीको चरन क्षेत्र हुन् ।

    धेरै जाडो र फूल नफुल्दा मौरीको आहारा व्यवस्थापनमा समस्या हुने गरेको उनको अनुभव छ । जङ्गली जनावर भालु र मालछेपारोको आक्रमणबाट मौरीलाई जोगाउनु अर्को चुनौती रहेको छ ।

    भौगोलिक विकटताका कारण बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयमा पुगेर फर्म दर्ता तथा प्यान नम्बर लिन नपाएको छन्त्यालले गुनासो गरे ।

    हालै सडक सञ्जालमा जोडिएको धौलागिरि गाउँपालिका–१, गुर्जाका वडाध्यक्ष झक छन्त्यालले घुम्ती शिविर आयोजना गरेर मौरीपालक किसान रेशमसहितका उद्यमी, कृषक र व्यवसायीलाई दर्ता, करको दायरा, तालिम र अनुदान सुविधामा जोड्न पहल गरिने बताए ।


    प्रकाशित : बुधबार, श्रावण १३ २०८३०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार