२०८३, कार्तिक ११ गते बुधबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व


  • मेरोभ्यूज
  • श्रावण २७, २०८३ बुधबार

  • कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

     

    बाँके । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ ।

    निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्व घटेको जनाएको छ ।

    निकुञ्जभित्रै बाह्रै महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको सङ्ख्या घटेको निकुञ्जको भनाइ छ ।

    निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुको अवस्थासमेत सुधारिएको निकुञ्जका प्रमुख एवं बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

    बाघको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज चुरे र भावर पारिस्थितिक प्रणालीको प्रतिनिधि क्षेत्र हो ।

    यहाँको भौगोलिक बनावटका कारण सतहमा पानीको उपलब्धता न्यून रहने भएकाले सुक्खायाममा वन्यजन्तुले पानीको अभाव झेल्ने गरेका थिए ।

    निकुञ्जमा प्राकृतिकरूपमा पानीको मुहान चगाई नाला र मुगुवा खोला रहेका छन् । यसबाहेक वर्षभरि पानी रहने भरपर्दो प्राकृतिक स्रोत नहुँदा वन्यजन्तु पानीको खोजीमा निकुञ्ज बाहिर निस्कने अवस्था थियो ।

    यस समस्यालाई समाधान गर्न निकुञ्जले सौर्य ऊर्जामा आधारित डिप बोरिङ प्रणाली जडान गरी कृत्रिम पोखरीहरूमा पानी भर्ने व्यवस्था गरेको छ । यस प्रविधिमार्फत निकुञ्जको करिब ७२ किलोमिटर क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गरिएको छ ।

    पानीसँगै घाँसेमैदानको व्यवस्थापनमा सुधार भएपछि वन्यजन्तुका लागि आवश्यक आहारा र बासस्थान दुवैको अवस्था सुदृढ बनेको छ ।

    निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जभित्र पानी र आहाराको पर्याप्त व्यवस्था भएपछि बाघको मुख्य आहारा मानिने चितल, चौका, रतुवा, नीलगाई र जरायोलगायत वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

    आहारा प्रजातिको वृद्धि भएसँगै बाघ संरक्षणमा समेत सकारात्मक प्रभाव परेको उनले बताए ।

    विगतमा पानी र आहाराको अभावका कारण बाँके, दाङ र सल्यानका मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा पुग्ने वन्यजन्तु अहिले निकुञ्जको कोर क्षेत्रमै केन्द्रित हुन थालेका छन् । यसले मानव–वन्यजन्तु द्वन्द्व घटाउनुका साथै स्थानीय बासिन्दामा सुरक्षा र विश्वासको भावना बढाएको उनले बताए ।

    “कृत्रिम पोखरी निर्माणको यो अभ्यासले वन्यजन्तु संरक्षण, पारिस्थितिक सन्तुलन र स्थानीय समुदायको सुरक्षालाई एकसाथ मजबुत बनाएको छ,” निकुञ्ज प्रमुख कँडेलले भने ।

    उनका अनुसार निकुञ्जको यो प्रयासलाई चुरे तथा भावर क्षेत्रका अन्य संरक्षण कार्यक्रमका लागि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ ।


    प्रकाशित : बुधबार, श्रावण २७ २०८३०९:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार