२०८३, कार्तिक ११ गते बुधबार

सेती पुल निर्माणले गति लियो

सेती पुल निर्माणले गति लियो


  • मेरोभ्यूज
  • भाद्र १, २०८३ सोमबार

  • सेती पुल निर्माणले गति लियो

     

    गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।

    विक्रम संवत २०७९ साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा सुरुमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो ।

    गत जेठमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधीन पुलको निरीक्षण गरी निर्धारित समयमै काम सक्न आयोजना कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।

    पुल निर्माणका लागि पछिल्लोपटक थपिएको म्याद आगामी फागुनसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । अहिले पुलको ‘डाउनस्ट्रिम’ तर्फ टावर निर्माण र पाइप राख्ने काम भइरहेको आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए । उनले भने, “पुलमा रहेका चारवटै टावरमा पनि ७५ प्रतिशत काम सकिएको छ ।”

    थपिएको म्यादभित्रै काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिएको प्रमुख इन्जिनियर कुँवरले बताए । ‘डाउनस्ट्रिम’तर्फको ढलानपछि ‘अपस्ट्रिम’मा टावर निर्माण र पाइप जडानको काम सुरु हुने उनको भनाइ छ ।

    भ्याटबाहेक रु. ९४ करोडको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो । यसअघि मापदण्डभित्रका संरचना समयमा नहटाउँदा पुल निर्माणको काम पनि सुस्त भएको थियो । पुलका लागि चाहिने केबललगायतका सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले पनि काममा ढिलाइ हुँदै आएको थियो ।

    ‘केबल–स्टेड’ प्रविधिको उक्त पुल एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको हो । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख इन्जिनियर कुँवरले बताए ।

    पुरानो प्रविधिको भन्दा अहिले बनाउनका लागि पुल डिजाइनका हिसाबले आकर्षक रहेको जनाइएको छ । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्नेछ ।

    एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग भएको प्रमुख इन्जिनियर कुँवरले बताए । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन् ।

    -----


    प्रकाशित : सोमबार, भाद्र १ २०८३१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार