२०८३, कार्तिक ११ गते बुधबार

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने


  • मेरोभ्यूज
  • भाद्र १०, २०८३ बुधबार

  • सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

     

    धनगढी । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा एक-एकवटा आवासीय विद्यालय स्थापना गर्ने तयारी भइरहेको बताएको छ ।

    शिक्षा तथा खेलकूद मन्त्रालयको समन्वय तथा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा धनगढीमा भएको ‘अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ विषयक छलफलमा मन्त्री पोखरेलले विद्यालय स्थापनाका लागि आवश्यक बजेटसमेत विनियोजन भइसकेको जानकारी दिए ।

    मन्त्री पोखरेलका अनुसार विद्यालय सञ्चालनको मोडालिटी तय गर्न सरोकारवालासँग छलफल भइरहेको छ । आवासीय विद्यालयमा विद्यार्थीलाई पठन-पाठनसँगै थेरापी, स्वास्थ्य सेवा तथा अन्य रचनात्मक गतिविधि सञ्चालन गरिनेछ ।

    “सरकार गठन हुनेबित्तिकै अटिजम भएका बालबालिकाका लागि देशका सातै प्रदेशमा एउटा-एउटा आवासीय विद्यालय स्थापना गर्ने घोषणा गरिसकेका छौँ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था पनि भइसकेको छ,” मन्त्री पोखरेलले भने, “यसै वर्षदेखि विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउँछौँ ।”

    मूलधारका विद्यालयमा भर्ना गर्नुअघि अटिजम भएका बालबालिकालाई आवासीयरूपमा स्वास्थ्य सेवा र आवश्यक शिक्षा प्रदान गर्ने गरी मापदण्डको मस्यौदा तयार गरिएको उनले बताए ।

    मस्यौदालाई प्रभावकारी बनाउन सरोकारवालाको रचनात्मक सुझाव आवश्यक रहेको उनको भनाइ थियो ।

    अटिजम भएका बालबालिकाको समस्या पछिल्ला वर्षमा विश्वव्यापीरूपमा बढ्दै गएको उल्लेख गर्दै मन्त्री पोखरेलले अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए ।

    आगामी शिक्षा ऐन, नीति तथा मापदण्डमा अटिजमसम्बन्धी विषयलाई समेटेर सरकारको काम गर्ने आधार थप स्पष्ट बनाइने उहाँले जानकारी दिए ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता महतोले अटिजम भएका बालबालिकालाई बोझका रूपमा नलिइ उनीहरूको रुचि र क्षमताअनुसार विकासका अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

    आफू पनि अटिजम भएका सन्तानकी आमा भएको उल्लेख गर्दै उनले यस विषयलाई राज्यको प्राथमिकतामा राख्न संसद् र सरकारसँग निरन्तर पहल गरिरहेको बताए ।

    अभिभावकहरूले बालबालिकाको हेरचाहमा धेरै समय खर्चिनुपर्दा आफूहरूलाई अन्य काम गरी जीविकोपार्जन गर्न कठिन भइरहेको बताएका थिए ।

    उनीहरूले वडा तहमा हेरचाह केन्द्र, छुट्टै आवासीय विद्यालय र थेरापी केन्द्र स्थापना गर्न तथा अभिभावकका लागि आयआर्जनका अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।

    विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले अटिजम भएका बालबालिकाको वास्तविक तथ्याङ्क संकलन र आवश्यकता पहिचान गरी त्यसैका आधारमा नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

    राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटीका अध्यक्ष रमेश बस्नेतले अटिजम भएका बालबालिकालाई अन्य अपाङ्गता भएका बालबालिकाभन्दा फरक आवश्यकता भएका बालबालिकाका रूपमा बुझेर विशेष कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने बताए ।

    शिक्षा विभागका शिक्षा अधिकृत दीपक माझीले तयार भइरहेको मापदण्डको मस्यौदामा समेटिएका प्रावधानबारे जानकारी दिँदै अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका समस्या समाधानका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको बताए ।


    प्रकाशित : बुधबार, भाद्र १० २०८३१०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार