भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य शुरु गरिएको छ ।
ओझेलमा परेको यस स्थललाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले संरक्षण अभियान अघि बढाएको हो ।
स्थानीयस्तरमा आकर्षक प्राकृतिक पोखरीका रूपमा रहेको ठूलो आहाल क्षेत्र पर्यटकका लागि सम्भावनायुक्त स्थल मानिन्छ ।
हरियाली वन क्षेत्रले घेरिएको यो स्थान शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने स्थानीयहरू बताउँछन् ।
गाउँपालिकाले यस क्षेत्रको दीर्घकालीन संरक्षण र पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार निर्माण शुरु गरेको छ ।
हालसम्म पोखरी संरक्षण, वरपरको क्षेत्रको सरसफाइ, विश्रामस्थल निर्माण र वृक्षरोपणलगायतका कार्य सम्पन्न भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
यसले पर्यटकलाई बस्न, अवलोकन गर्न र समय बिताउन सहज वातावरण तयार पार्न थालेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार हालसम्म करिब रु. पाच लाख बराबरको लगानीमा प्रारम्भिक संरक्षण तथा पूर्वाधार विकासका काम सम्पन्न गरिएको छ ।
“यस क्षेत्रलाई व्यवस्थित गर्दै क्रमशः थप संरचना निर्माण गर्ने योजना छ”, उनले भने ।
प्राकृतिक सम्पदाको जगेर्नासँगै पर्यटकीय स्थल बनाउने लक्ष्यका साथ संरक्षण तथा विकासको काम गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए ।
प्राकृतिकरूपमा सुन्दर र सम्भावनायुक्त ठाउँ रहेकाले यसको विकासमा गाउँपालिकाले जोड दिएको उनको भनाइ छ ।
स्थानीयवासी पनि यस अभियानप्रति उत्साहित देखिएका छन् । स्थानीय ध्रुव राईका अनुसार ठूलो आहाललाई पर्यटकीय स्थलसँगै वनभोज स्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
“यो ठाउँलाई संरक्षण गरेर प्रचार-प्रसार गर्न सके यहाँ आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ”, उनले भने ।
आगामी दिनमा थप पूर्वाधार निर्माण, पहुँच मार्ग सुधार, सूचना बोर्ड स्थापना तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्दै ठूलो आहाल क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको पौवादुङमा गाउँपालिका कार्यालयले जनाएको छ ।

