म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ ।
सङ्घीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो । मुनामा हाल धौलागिरि गाउँपालिकाको केन्द्र रहेको छ ।
भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ती रहेको मुनाका घरहरूबाट निस्कने फोहोर पानी र बर्खायाममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित निकासका लागि पक्की नाला निर्माण गरिएको धौलागिरि–३ का वडाध्यक्ष देवेन्द्र रोकाले बताए ।
“बर्खामा पाखाबाट बग्ने पानीले गाउँलाई असुरक्षित बनाउने र घरबाट निस्कने ढलका कारण फोहोर व्यवस्थापनमा चुनौती थियो”, उनले भने, “मुना गाउँलाई सफा र सुरक्षित बनाउने उद्देश्यले पक्की नाला निर्माण गरिएको हो ।”
मुनामा करिब तीन सय घरपरिवारको बसोबास रहेको छ । उक्त योजना निर्माणका लागि गत माघ २५ गते निर्माण कम्पनीसँग रु. ६० लाख ७८ हजार सात सय ४७ मा ठेक्का सम्झौता गरिएको थियो ।
योजनामार्फत नौ सय ८९ मिटर लामो पक्की नहर निर्माण भएको वडाध्यक्ष रोकाले जानकारी दिए । असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यअघिनै सम्पन्न भएको उनले बताए ।
स्थानीयबासी नन्दप्रसाद पुनले पक्की नाला बनेपछि बस्ती सुरक्षित र सुन्दर भएको बताए । घरभित्र बाढी पस्ने र फोहोर हुने समस्या हटेको अर्का स्थानीयबासी मुमबहादुर पुनले बताए ।
यस वर्ष धौलागिरि गाउँपालिकाको गुर्जाका साथै वडा नम्बर १ को गुर्जामा पनि ढल व्यवस्थापन योजना निर्माण भएको छ ।
गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामार्फत रु. २२ लाख ९९ हजारको लागतमा दुई सय ६० मिटर पक्की नाला निर्माण भएको छ ।
गत वर्ष वडा नम्बर ४ मुदीमा ढल व्यवस्थापन आयोजना सञ्चालन भएको थियो ।
सङ्घीय विशेष अनुदानको बजेटबाट मुदीमा रु. ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरी चार सय मिटर पक्की नहर निर्माण भएको थियो ।
आगामी वर्ष वडा नम्बर ७ ताकममा ढल व्यवस्थापनका लागि सङ्घीय सरकारबाट प्राप्त भएको रु. एक करोड बजेट विनियोजन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

