म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा, एकान्त र शान्त वातावरण ।
पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरू । चराचुरुङ्गीहरूको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतमा रहेको भंकासे ।
यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय स्थल हो ।
प्राकृतिक हिसाबले सुन्दर, मनमोहक र धार्मिक रूपमा महत्त्वपूर्ण मानिएको भंकासे पूर्वाधार, प्रचार-प्रसार र पर्यटकको पर्खाइमा छ ।
पात्लेखेतको वाखेत टोलको शिरमा समुद्री सतहदेखि करिब दुई हजार छ सय मिटर उचाइमा अवस्थित भंकासेको प्रचार-प्रसार आवश्यक रहेको स्थानीय लोकबहादुर पुनको भनाइ छ ।
“पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुँदा 'भ्वाङ खसेको' भन्दै भन्दै अपभ्रंश भएर भंकासे नाम रहने जनविश्वास छ”, उनले भने ।
भंकासेमा पहाड भासिएर ओडार बनेको भ्वाङ छ । भ्वाङको नजिकै करिब दस रोपनी समथर खाली जमिन छ ।
भंकासेको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला देखिन्छन् ।
म्याग्दीका साविकका ४१ मध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट अवलोकन गर्न सकिने स्थानीयबासीहरूको भनाइ छ ।
भंकासेदेखि करिब दुई सय मिटर तल सिद्धको थान रहेको छ । उक्त थानमा तपस्या गरेका ऋषिहरूले देहत्याग गरेको ठाउँमा मन्दिर र धर्मशाला बनाइएको छ । हालपनि त्यहाँ देशका विभिन्न ठाउँबाट ऋषिमुनिहरू ध्यान र तपस्याका लागि आउने गरेका छन् ।
सिन्धुपाल्चोकबाट आएर १२ वर्षदेखि भंकासेमा तपस्या बसेका तपस्वी रुपचन्द्रले सपनामा देखेको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि तपस्या गर्न आएको प्रतिक्रिया दिए ।
भंकासे र सिद्धथानमा आश्रमहरू छन् । वाखेतदेखि ३० मिनेटको पैदल यात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिँडेर भंकासे पुगिन्छ ।
रघुगङ्गा, मङ्गाल गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल टोड्केदेखि ४० मिनेटको पैदल यात्रापछि भंकासेमा पुगिन्छ ।
बेनी नगरपालिकाले सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनको अवधारणाअनुसार धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’मा समेटेको वडाध्यक्ष मसविर रोकाले बताए ।
वाखेतदेखि सिद्धथान हुँदै भंकासे जोड्ने पदमार्ग र सिद्धथान जोड्ने सडक निर्माण गरिएको जानकारी दिँदै ऐतिहासिक तथ्यहरू जुटाउनका लागि धर्मगुरुमार्फत खोज अनुसन्धान थालिएको उनले जानकारी दिए ।

