बाँके । यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई निःशुल्क वितरण गर्न थालेको छ ।
चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल छ लाख ७८ हजार एक सय ७२ बिरुवा उत्पादन गरी वितरण शुरु गरिएको उक्त कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले जानकारी दिए ।
यो वर्ष एकवर्षीय पाँच लाख ८८ हजार आठ सय ७२ र बहुवर्षीय ८९ हजार तीन सय बिरुवा उत्पादन गरिएका तथा किसानलाई वितरण शुरु गरिएको जानकारी दिँदै उनले सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन र एकासिया अधिक हुर्काइएका बताए ।
अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अम्बा, अर्जुन, वीरेन्द्रफूल, धुपी, रिठा, कपुर, सिमल, कुसुम, निलमफूल र एकासियालगायतका बिरुवा पनि नर्सरीमा हुर्किएका छन् ।
किसानलाई निःशुल्क वितरण गरिएका बिरुवामा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा सजावटका बिरुवाहरू छन् ।

