२०८३, कार्तिक ११ गते बुधबार

एक सय आठ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

एक सय आठ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर


  • मेरोभ्यूज
  • भाद्र २६, २०८३ शुक्रबार

  • एक सय आठ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

     

    सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको एक सय आठ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ ।

    पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।

    त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ ।

    रामधुनी जङ्गलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन् ।

    रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायतका पर्वमा भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गरेको छ ।

    मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार सङ्घीय सरकार, रामधुनी नगरपालिका तथा अन्य निकायको सहयोगमा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको छ ।

    उनका अनुसार सङ्घीय सरकारको रु. एक करोड ३५ लाखबाट निर्माण गरिएको एक सय आठ धारा अहिले मन्दिर परिसरको प्रमुख आकर्षण बनेको छ ।

    धारा निर्माण भएपछि यहाँ मन्दिरमा आउने तीर्थयात्रीले स्नान गर्न पाउनुका साथै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

    त्यसैगरी रामधुनी मन्दिर परिसरमा सङ्घीय सरकार र रामधुनी नगरपालिकाको आधा–आधा लगानी गर्ने गरी रु. दुई करोडको लगानीमा धर्मशाला निर्माण भइरहेको छ ।

    साथै कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको रु. ५० लाखबाट तपस्वीथानमा सिँढी तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भएको छ ।

    गुठी संस्थानको रु. पाँच लाख सहयोगमा यसअघि सीताको मूर्ति निर्माण गरिएको समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।

    अध्यक्ष कार्कीका अनुसार मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबार तथा अन्य आवश्यक संरचना निर्माण भइसकेका छन् ।

    साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदास मन्दिर निर्माणको काम पनि अघि बढेको छ ।

    इटहरीबाट घुम्न आएका सन्जोग श्रेष्ठले मन्दिर परिसरमा निर्माण गरिएको एक सय आठ धाराले रामधुनीको आकर्षण थप बढाएको बताए ।

    यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । व्यवस्थापन समितिका अनुसार मन्दिरमा भक्तजनको आगमन बढ्दै गएको छ ।

    प्राकृतिक वातावरण, धार्मिक आस्था र नयाँ पूर्वाधारको संयोजनले रामधुनी मन्दिर पूर्वी नेपालको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय बताउँछन् ।


    प्रकाशित : शुक्रबार, भाद्र २६ २०८३११:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार