२०८३, कार्तिक ११ गते बुधबार

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन


  • मेरोभ्यूज
  • भाद्र २६, २०८३ शुक्रबार

  • रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

     

    सुनसरी । सुनसरीको रामधुनी सब-डिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ ।

    वि.सं. २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ ।

    सब-डिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता र अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उपलब्ध छन् ।

    केही बिरुवा यस वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवा अघिल्ला वर्षदेखि संरक्षण गर्दै आएको उनले बताए ।

    रामधुनी मन्दिर नजिकै कार्यालय रहेकाले दर्शनका लागि आउने भक्तजनले समेत यहाँबाट बिरुवा लैजाने गरेका छन् ।

    भारतबाट आउने धार्मिक पर्यटकले पनि बिरुवा लैजाने गरेकाले रामधुनीमा उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्ला तथा सीमापारसम्म पुग्ने गरेको वन सहायक आचार्यले जानकारी दिए ।

    उनका अनुसार असार, साउन र भदौ महिनामा बिरुवाको माग बढी हुने गरेको छ ।

    उत्पादित बिरुवा सर्वसाधारण, सामुदायिक वन तथा विभिन्न संस्थालाई आवश्यकताअनुसार वितरण गरिन्छ ।

    वन क्षेत्रमा रोप्न उपयुक्त प्रजातिका बिरुवा मात्र उत्पादन गर्ने अनुमति भएकाले कृषि प्रयोजनका बिरुवा उत्पादन नगरिएको उनले बताए ।

    दुई–चारवटासम्म बिरुवा लैजान कुनै कागजात आवश्यक नपर्ने, संस्थागत रूपमा बिरुवा लिन चाहनेले भने सम्बन्धित वडाको सिफारिस अनिवार्य हुने तथा ५० वटाभन्दा बढी बिरुवा माग गर्नेले निवेदन, नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था रहेको वन सहायक आचार्यले जानकारी दिए ।

    उनले भने, “नर्सरीको काम फागुनबाट शुरु गरिन्छ र फागुनमा बीउ राखेपछि असारदेखि बिरुवा वितरण शुरु हुन्छ ।”

    नर्सरी व्यवस्थापनका लागि छुट्टै कर्मचारी खटाइएको छ । बिरुवाको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।

    उनले भने, बिरुवा नष्ट भए सम्बन्धित कर्मचारीले आर्थिक उत्तरदायित्वसमेत व्यहोर्नुपर्ने व्यवस्था रहेकाले नर्सरी व्यवस्थापनलाई संवेदनशील रूपमा लिइएको छ ।

    बिरुवा उत्पादन र वितरणसँगै कार्यालयले सामुदायिक वनलाई प्राविधिक सहयोग, छपान तथा कटान कार्यमा सहजीकरण गर्दै आएको छ ।

    राष्ट्रिय वन क्षेत्रमा नियमित गस्ती तथा वन उपभोक्ता समूहका गतिविधिमा सहभागिता जनाउँदै आएको छ ।

    केही दिनअघि सिंहवाहिनी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको वन सहायक आचार्यले जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, भाद्र २६ २०८३१२:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार