२०८३, कार्तिक ११ गते बुधबार

चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली

चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली


  • मेरोभ्यूज
  • आश्विन ५, २०८३ सोमबार

  • चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली

     

    बागमती । हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचान बनेको यहाँको खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ ।

    विभिन्न पेसा र व्यवसायमा आबद्ध भइ बाहिरका विभिन्न जिल्लाबाट आएर हेटौँडा बस्ने व्यक्ति हुन् या कान्तिलोकपथमार्फत चुच्चे खोला हुँदै आवत-जावत गर्ने हुन्, जो–कोहीले पनि यहाँबाट घरमा कोसेलीका रूपमा खुवा लैजाने गर्दछन् ।

    करिब २०३५/०३६ सालतिरदेखि चुच्चे खोला क्षेत्रमा शुरु भएको खुवा बनाउने व्यवसाय पछिल्ला वर्षहरूमा यहाँको उत्कृष्ट पहिचान त बन्यो नै, यो क्षेत्र हेटौँडाको कोसेली घरकैरूपमा स्थापित भएको हो ।

    खुवा मात्र नभइ यहाँ दूधबाट बन्ने पेडा, पुष्टकारी तथा विभिन्न मिठाइ पनि उत्पादन गर्ने गरिएको लक्ष्मीनारायण खुवा बिक्री केन्द्रका सञ्चालक सोमनाथ तिमल्सिनाले जानकारी दिए ।

    उनका अनुसार चुच्चे खोलामा खुवा उत्पादनको इतिहास भने त्यति लामो छैन । विगत चार दशकको अन्तरालमा चुच्चे खोला खुवाका लागि राष्ट्रियरूपमा नै ख्यातिप्राप्त भएको हो ।

    विक्रम संवत २०४० आसपासमा यस क्षेत्रमा सामान्य काठका छाप्रा मात्रै रहेको अनुभव सुनाउँदै उनले तत्कालीन समयमा २० वर्षको उमेरमा कामको खोजीमा यस ठाउँमा आएको बताए ।

    “त्यस समयमा यहाँ सडक यातायातका लागि सामान्य ट्रयाक मात्रै खुलेको थियो”, उनले भने, “मैले त्यस समयमा रु. पाच सय लगानी गरी केटली र कप लिएर चिया र पाउरोटीको व्यापार थालेको हुँ ।”

    त्यस समयमा घरभाडा मासिक एक सय रुपैयाँ बुझाएको अनुभव सुनाउँदै उनले त्यसबेला यो ठाउँमा तामाङ समुदायको बाहुल्यता रहेको जानकारी दिए ।

    उनका अनुसार तत्कालीन समयमा चुच्चे खोला यस आसपासका हेटौँडा, गढी, सुखौरा, ठिङ्गन, मन्थली, बेतेनी, राइगाउँ, फापरबारी, छतीवन, हर्नामाडी र हटियाको केन्द्रजस्तै थियो ।

    शुरुमा आफूले व्यापार थाल्दा यस ठाउँमा चिया, पाउरोटी, जेरी, दही चिउरा आदिको व्यापार हुने गरेको बताउँदै उनले त्यसपछि क्रमशः खुवाको व्यापार बढ्दै गएको जानकारी दिए ।

    शुरुशुरुमा यस क्षेत्रमा गाउँबाट आउने जानेहरूले धेरै तरकारी चिउरा खाने गरेको बताउँदै उनले त्यस समयमा यहाँ ५० पैसामा नै तरकारी चिउरा खान पाइने जानकारी दिए ।

    “मैले चिया पाउरोटीसँगै त्यस समयमा एक घान, दुई घान गरेर क्रमशः खुवा पनि घोट्न थालेँ”, अनुभव सुनाउँदै उनले भने ।

    त्यस समयमा बनाइएको खुवा आसपासका गाउँहरूबाट यहाँ आउँदा र जाँदा फाट्टफुट्ट खाने तथा लैजाने गरे पनि राम्रो व्यापार भने केही वर्षपछि मात्रै बढ्दै गएको उनको अनुभव छ ।

    तिमल्सिनाले तयार गरेको खुवा, पेडा, गुँदपाक २०५१ सालदेखि २०७० सालसम्म पोखराका आँगन, मारबाडी, देउराली मिष्ठान्न भण्डारमा पनि पुग्ने गरेको थियो ।

    शुरुमा यहाँका दुई–तीनवटा पसलमा मात्रै खुवा बन्ने गरेकामा अहिले २० वटाभन्दा बढी पसलमा खुवा बनाएर बिक्री गर्ने गरिएको छ ।

    शुरुआती समयमा २०४०/०४१ सालतिर दूध प्रतिमान दुई रुपैयाँदेखि पाँच मोहोरसम्म पाइने गरेको र त्यस समयमा खुवा प्रति किलो ३० रुपैयाँमा बिक्री हुने गरेको उनले अनुभव सुनाए ।

    तिमल्सिनाले खुवा तथा मिठाइको व्यापारबाटै वार्षिक रु. १०–१२ लाख आम्दानी गर्दै आएको छ । खुवाको बिक्रीबाटै खाली हातजस्तै काभ्रेको बेथानचोकबाट चुच्चे खोलामा आएको आफूले दुई छोरा र एक छोरीको उचित पठन-पाठनसँगै राम्रैसँग जग्गा जमिन तथा सम्पत्ति जोड्न सकेको सुखद अनुभव रहेको उनले बताए ।

    यहाँबाट बिक्री हुने गरेको खुवाका कारण स्थानीयमा स्वरोजगार सिर्जना गरेसँगै युवामा पनि 'आफैँले गर्दा हुन्छ' भन्ने भावना अभिवृद्धि भएको छ ।

    खुवाका कारण भैँसीपालन गर्ने कृषकलाई दूध बिक्री नहुने चिन्ता हटेको स्थानीय कृषकहरू बताउँछन् ।

    यहाँ उत्पादित खुवाले स्थानीय पहिचान र युवालाई स्वदेशमै उद्यमी बन्न प्रेरित गरेको छ । खुवाका कारण दूधको पर्याप्तरूपमा खपत हुने भएकाले चुच्चे खोला आसपासमा भैँसीपालनतर्फ पनि आकर्षण बढेको छ ।

    पछिल्लो समयमा कतिपय खुवा पसल सञ्चालकले स्थानीयलाई भैँसीपालनका लागि ऋण सहयोगसमेत दिँदै आएका छन् ।

    हाल भैँसीको दूध प्रतिलिटर एक सय दस रुपैयाँमा पाइन्छ भने गाईको दूध प्रतिलिटर ८० रुपैयाँमा पाइन्छ ।

    खुवाका लागि भने भैँसीको दूध नै उपयुक्त हुने कृष्ण कन्हैया खुवा सेन्टरका सञ्चालक श्यामकुमार मानन्धरले बताए ।

    दूधबाट बन्ने अन्य पेडा, पुष्टकारीजस्ता मिठाइका लागि भने गाईको दूध प्रयोग गरिने उनले बताए ।

    मानन्धरले खुवा व्यापारबाटै मासिक करिब एक लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । अन्य तीन जनालाई रोजगारीसमेत दिएका उनलाई खुवा उत्पादन तथा व्यापारमा श्रीमती तथा छोरा र छोरीले निरन्तर सघाउँदै आएका छन् ।

    खुवा उत्पादनका लागि दाउराको प्रयोग नै उपयुक्त मानिने बताउँदै उनले करिब २५ मिनेटमा एक घान खुवा तयार हुने बताए ।

    सामान्यतः चार लिटर दूधको एक किलो खुवा तयार हुने भनिए पनि लगभग नौ सय ग्राम मात्र बस्ने गरेको खुवा व्यवसायीहरू बताउँछन् ।

    चुच्चे खोलाबाट खुवा प्रति किलो सात सय रुपैयाँ, पेडा प्रति किलो एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ । यहाँबाट गुदपाक तथा अन्य मिठाइ पनि राम्रै बिक्री हुँदै आएको छ ।

    चुच्चे खोला खुवाका लागि राम्रो ब्राण्ड बनिरहेको हेटौँडा उपमहानगरपालिका–१७ का वडाध्यक्ष उद्धव सत्यालले बताए ।

    चुच्चे खोलामा भइरहेको खुवा उत्पादन र प्रवर्द्धनमा नगरपालिकाले जोड दिएको बताउँदै उनले यसका लागि खुवा उत्पादन गर्ने व्यवसायीलाई आधुनिक मेसिन तथा चुल्हो अनुदानमा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम रहेको जानकारी दिए ।

    “खुवा उत्पादनमा प्रोत्साहनसँगै नगरपालिकाले यस क्षेत्रमा गाई तथा भैँसीपालनका लागि पनि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ”, उनले भने, “कृषिजन्य उत्पादनमा प्रोत्साहन तथा सहयोगका विभिन्न कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।”

    आँखै अगाडि पकाइने भएकाले अझै विश्वास बढाउँदै

    यस क्षेत्र हुँदै आवत-जावत गर्नेहरू आफ्ना आँखै अगाडि सफासुग्घरसहित खुवा घोटिरहेको देखेर पनि पूर्ण विश्वासका साथ खुवा किनेर लैजाने गरेका छन् ।

    प्रत्येक दिन बिहान सबेरैदेखि बेलुका अबेरसम्म खुवा घोटिरहेको दृश्य देख्न पाउनु पनि यहाँको मौलिकता हो । जतिसुकै ढिलो किन नहोस्, यहाँ पसेर खुवाको स्वाद लिएर मात्रै मानिस आफ्नो गन्तव्यमा जाने गरेको स्थानीयवासी बताउँछन् ।

    पछिल्ला वर्षहरूमा हेटौँडाबाट देशका विभिन्न स्थानमा जाने सर्वसाधारणको प्रमुख कोसेली नै चुच्चे खोलाको खुवा हुने गरेको कृष्ण कन्हैया खुवा सेन्टरका सञ्चालक मानन्धरको भनाइ छ ।

    पछिल्लो समयमा भैँसीपालनको क्रम घट्दै जाँदा आगामी दिनमा मागअनुसार खुवा बनाउन सकिँदैन कि भन्ने चिन्ता बढेको उनले बताए ।

    आफूले २०५७ सालतिरबाट खुवा बनाउन शुरु गरेको बताउँदै उनले बढ्दो माग र ग्राहकहरूको विश्वासले थप उत्साहित बनाएको बताए ।

    हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ यहीँ भएर जाने भएकाले दैनिक धेरै परिमाणमा खुवा तथा यहाँ उत्पादित गुदपाक, पुष्टकारी तथा मिठाइ काठमाडौँलगायत विभिन्न स्थानमा कोसेलीका रूपमा पुग्ने गरेको व्यवसायीहरू बताउँछन् ।

    पछिल्लो समयमा भैँसीपालन घट्दै जानुले आफूहरूको व्यवसायलाई प्रभावित पार्ने हो कि भन्ने चिन्ता बढेको बताउँदै उनले पशुपालक कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।

    खुवा उत्पादक व्यवसायीलाई पनि आधुनिक खुवा बनाउने मेसिनका साथै आधुनिक चुल्होहरू अनुदानमा उपलब्ध गराउन उनले सरकारसँग माग गरे ।


    प्रकाशित : सोमबार, आश्विन ५ २०८३११:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार