बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं. ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएको सिसमहल धार्मिक पर्यटकको आकर्षण बनिरहेको छ ।
मन्दिरका लक्ष्मी नारायणको दर्शनसँगै परिसरभित्रका आकर्षक दुईवटा सिसमहल दर्शनार्थीको रोजाइमा पर्ने गरेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले जानकारी दिए ।
विभिन्न स्थानमा रहेका सिसमहलमा सर्वसाधारणले स-शुल्क मात्रै हेर्न पाउने व्यवस्था भए पनि यहाँका महलहरू निःशुल्क रूपमा हेर्न पाउने व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले पछिल्लो समयमा यहाँस्थित सिसमहल हेर्नका लागि पनि धार्मिक पर्यटक आउने गरेको बताए ।
यहाँ रहेको राधाकृष्ण सिसमहल तत्कालीन जिल्ला विकास समितिको रु. आठ लाख सहयोगमा निर्माण गरिएको हो भने अर्को सीताराम सिसमहल रु. वीस लाखको लागतमा निर्माण गरिएको हो ।
सीताराम सिसमहल भने भक्तजनको आर्थिक सहयोगमा निर्माण भएको उनले जानकारी दिए ।
आध्यात्मिक जागरणसँगै सामाजिक सेवाका क्षेत्रमा क्रियाशील बनिरहेको यो संस्था २०३२ सालमा स्थापना भएको हो ।
तत्कालीन समयमा अनन्त श्री विभूषित पराङ्कुशाचार्यले स्थापना गरेको यो संस्था स्थापनाकालदेखि नै श्री लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिमार्फत सञ्चालन भइरहेको अध्यक्ष वाग्लेले जानकारी दिए ।
मन्दिरभित्र दक्षिण भारतको तिरुपति बालाजीकै जस्तै संरचना निर्माणका साथै त्यस्तै विधि तथा नियम अनुसार पूजाआजा गरिँदै गरिएको छ ।
उनका अनुसार संस्थाको विधिवत् दर्ता भने २०६१ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको हो ।
करिब दुई कट्ठा क्षेत्रफलको भू-भागमा रहेको मन्दिर परिसरमा विभिन्न संरचनाहरू निर्माण भएका छन् ।
मन्दिरमा तीर्थयात्राका लागि आउने तीर्थालुहरूका लागि छवटा कोठासहितको आवासीय व्यवस्थापन गरिएको जानकारी दिँदै उनले एक दिनमा १०/१२ जनासम्म तीर्थालु बस्न सक्ने व्यवस्था मिलाइएको बताए ।
मन्दिरले मुगु, हुम्लालगायत जिल्लाका पाँचजना बटुकलाई आवासीय व्यवस्थापनसहित वैदिक शिक्षासँगै विद्यालय तहका विभिन्न कक्षामा पढाउने व्यवस्था पनि गरिरहेको उनले जानकारी दिए ।
संस्थाका माध्यमबाट नियमित योगाभ्याससँगै धार्मिक व्यक्तित्वहरूबाट प्रवचन गराउँदै आइएको उनले बताए ।
मन्दिर परिसरभित्रै २०५८ सालमा लक्ष्मी नारायण व्यास पीठ स्थापना गरिएको छ । उक्त व्यास पीठबाट स्थापनाकालदेखि नै दैनिक वेद, भागवत् गीता, श्रीमद्भागवतको पाठपारायण भइरहेको छ ।
परिसरमा नै हरेक दिन कस्तुरी योग साधना केन्द्रमार्फत नियमित योग साधना भइरहेको छ ।
योग साधनाका लागि हेटौँडा नगर क्षेत्रका करिब ४० जना व्यक्ति नियमित सहभागी भइरहेको उनले बताए ।
मन्दिरमा हरेक दिन बिहान ६:०० देखि १०:०० बजेसम्म र दिउँसो ४:०० देखि ८:०० बजेसम्म पूजाआजा हुँदै आएको पुजारी भक्ति दाहालले जानकारी दिए ।
उनका अनुसार विभिन्न महत्त्वपूर्ण तिथिमिति र पर्व विशेषमा भक्तजनहरूको भीड लाग्ने गरेको छ ।
मन्दिर परिसरभित्रै मार्बलमा अठार अध्याय श्रीमद्भगवत् गीता लेखिएको छ । छ वर्षअघि रु. तीन लाख ५० हजारको लागतमा गरिएको लेखन कार्यमा हरेक अध्यायका लागि एक-एक जना व्यक्ति गरी १८ जनाले आर्थिक सहयोग गरेका छन् ।
मन्दिरलाई आध्यात्मिक जागरणसँगै सामाजिक सेवाको विशिष्ट माध्यमका रूपमा विकास गर्ने गरी काम भइरहेको समितिका सदस्य गोमादेवी वाग्लेले बताए ।
मन्दिरमा हरेक वर्ष पुस महिनामा महालक्ष्मी उत्सव सञ्चालन गर्दै आएको बताउँदै उनले हरेक रामनवमी, कृष्ण जन्माष्टमी, विजयादशमी, झुलन महोत्सव आदिमा धेरै सङ्ख्यामा दर्शनार्थीहरू आउने गरेको जानकारी दिए ।

