२०८३, कार्तिक ११ गते बुधबार

प्रचार-प्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

प्रचार-प्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’


  • मेरोभ्यूज
  • आश्विन १०, २०८३ शनिबार

  • प्रचार-प्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

     

    स्याङ्जा । यहाँको धार्मिक आस्थाको रूपमा रहेको सिद्ध गुफाको प्रचार-प्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ ।

    स्याङ्जाको गल्याङ नगरपालिका-१०, छहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवं ऐतिहासिक महत्त्व हुँदाहुँदै पनि प्रचार-प्रसारको अभावमा ओझेलमा परेको हो ।

    धेरै वर्ष पहिले गाईगोरु हेर्न आएका गोठालाहरूले गुफा देखेपछि सिद्धको शक्तिका रूपमा यस ठाउँलाई सिद्धको थान मानी पूजाआजा गर्न थालिएको गल्याङ-१०, सिद्ध गुफा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ९० वर्षीय पिताम्बर खनालले बताए ।

    “गाईगोरु चराउन आएका गोठालाले पहाडको भित्रपट्टि रहेको गुफा पत्ता लगाएका थिए ।

    उक्त गुफाभित्र अहिले पनि गाईका थुन, शङ्ख, मादल, मौलोलगायत विभिन्न आकृति स्पष्टसँग देख्न सकिन्छ”, उनले भने, “गुफाको बाहिरबाट छहरा झरिरहेको छ भने भित्रपट्टि विभिन्न आकृति छन् । यहाँ सिद्धको शक्ति रहेको धार्मिक मान्यतापश्चात् यस ठाउँमा शिव मन्दिर बनाएका छौँ ।”

    सुरुमा स्थानीयले खरले छाएर सामान्य खालको मन्दिर बनाएर पूजाआजा गर्दै आएका थिए ।

    विक्रम संवत २०५६ मा स्थानीयको अगुवाइमा मन्दिरलाई व्यवस्थित बनाउनका लागि देउसीभैँलो खेलेर रकम सङ्कलन गरी हालको मन्दिर निर्माण गरिएको अध्यक्ष खनालले बताए ।

    “पुरानो मन्दिरलाई संरक्षण र व्यवस्थित गर्न स्थानीयले देउसीभैँलो खेलेर रकम सङ्कलन गर्‍यौँ”, उनले भने, “टाढाटाढा गएर रकम सङ्कलन गरी मन्दिर निर्माण गरेका हौँ ।”

    सिद्ध गुफा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्व हुँदाहुँदै पनि समय अनुसार प्रचार-प्रसार गर्न नसक्दा धार्मिक पर्यटकलाई मन्दिरसम्म पुर्याउन सकिएको छैन ।

    मन्दिरमा विवाह, व्रतबन्ध, ग्रहशान्ति, सत्यनारायण पूजा, भजनकीर्तन हुने गरे पनि पछिल्लो समय गाउँघरमा युवापुस्ता नहुँदा पहिलाको जस्तो गतिविधि नहुने समितिका अध्यक्ष खनालले बताए ।

    यहाँको धार्मिक महत्त्वका बारेमा बुझाउन नसक्दा पनि धार्मिक पर्यटक आउने क्रम बढ्न नसकेको उनले दाबी गरे ।

    मन्दिरसम्म पुग्नका लागि रु. दुई लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार, वडा कार्यालय र स्थानीयको लागत साझेदारीमा गुफा परिसरमा पौवा निर्माण गरिएको वडाध्यक्ष मुक्तिप्रसाद खनालले जानकारी दिए ।

    “यस ठाउँको धार्मिक महत्त्व हुँदाहुँदै पनि हामीले प्रचार-प्रसार गर्न सकिरहेका छैनौँ”, उनले भने, “यहाँको धार्मिक महत्त्वका बारेमा प्रचार-प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन सकेमा यहाँ रोजगारी सिर्जना हुनुका साथै पर्यटकीय गतिविधि चलायमान हुनेछन् ।”

    पहाडको भिरालो परेको खोँचमा एकान्त स्थानमा उक्त गुफा अवस्थित छ ।

    प्राकृतिक छटाले सजिएको गुफामा पुगेपछि जोकोहीको पनि मन आनन्दित हुन्छ ।

    यसको प्रचार-प्रसार गर्न सकेको खण्डमा धार्मिकसँगै पर्यटकीय दृष्टिले पनि महत्त्व बढ्दै जाने स्थानीय बताउँछन् ।


    प्रकाशित : शनिबार, आश्विन १० २०८३११:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार