२०८३, कार्तिक ११ गते बुधबार

शहरबाट गाउँ फर्किएर हाँस पालनमा रमाएका चिरञ्जीवी

शहरबाट गाउँ फर्किएर हाँस पालनमा रमाएका चिरञ्जीवी


  • मेरोभ्यूज
  • आश्विन १६, २०८३ शुक्रबार

  • शहरबाट गाउँ फर्किएर हाँस पालनमा रमाएका चिरञ्जीवी

     

    म्याग्दी । विदेश जाने र शहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ ।

    दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गरे । व्यापार राम्रै चले पनि २१ वर्षपछि उनी फेरि आफ्नै जन्मथलो फर्किए ।

    अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहेका छन् ।

    फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, शहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवन यात्रा धेरैका लागि अनुकरणयोग्य बनेको छ ।

    “एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि दस वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मिनाले गर्दै आएको तरकारी खेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए”, उनले भने, “बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि शुरु गरेको फार्मबाट उत्साहित छु ।”

    आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु. २५ लाख लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारी खेती गरेका छन् ।

    बुबाआमाले उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उनकी श्रीमती रितुले रामरेखामा घर बनाएका छन् ।

    एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाएको छ भने अर्का छोरा काठमाडौँमा आइटी विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् भनेर चिरञ्जीवीले बताए ।

    तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन शुरु गरेको श्रेष्ठले बताए ।

    “दुई चरणमा प्रतिकिलो रु. छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सयवटा लोकल कुखुरा पनि बिक्री गरेको छ”, उनले भने, “शुरुआती आम्दानीले उत्साहित बनाएको छ ।”

    उनको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुईवटा गाई पालेका उनीहरूले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ ।

    म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन ।

    उनले चिनियाँ मसकोवी जातको हाँस पालेका छन् । तीन महिना पालेपछि तीन किलोग्रामभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थालेका छन् ।

    स्थानीयस्तरमै हाँसपालन शुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेस्टुरेन्ट व्यवसायी दिनेश रावलले बताए । उनका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ ।

    चिरञ्जीवीका बुबा सुवास र आमा मिनाले छोराबुहारीले बूढेशकालमा जन्मथलो फर्किएर साथ र साहरा दिएकोमा खुसी व्यक्त गरे ।

    “एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो”, सुवासले भने, “विदेशको राम्रो कमाइ हुने जागिर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हामीलाई गर्व लागेको छ ।”

    तरकारी खेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जीवीको योजना छ । उनीहरूका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरू सुविधा र अवसरको खोजीमा बजार जाने र विदेशिने गर्दा गाउँबस्ती सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गरेको बताए ।


    प्रकाशित : शुक्रबार, आश्विन १६ २०८३१०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार