२०८३, कार्तिक ११ गते बुधबार

सुरक्षित मातृत्वमा फड्को मार्दै नरैनापुर

सुरक्षित मातृत्वमा फड्को मार्दै नरैनापुर


  • मेरोभ्यूज
  • आश्विन १६, २०८३ शुक्रबार

  • सुरक्षित मातृत्वमा फड्को मार्दै नरैनापुर

     

    बाँके । बाँकेको दुर्गम क्षेत्रका रूपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन गरेको छ ।

    नरैनापुरमा अहिले घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ । वडास्तरमा गाउँमै प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि घरमै सुत्केरी गराउने पुरानो परम्परामा परिवर्तन आएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले बताए ।

    “विगतमा घरमै सुत्केरी गराउँदा धेरै आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने गरेको थियो, तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा त्यो तस्विर बदलिएको छ”, शाहले भने, “घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ, वडा–वडामा सञ्चालनमा रहेका बर्थिङ सेन्टर सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएका छन् ।”

    उनका अनुसार, आर्थिक वर्ष २०८२/०८३ मा नरैनापुर गाउँपालिकाका विभिन्न प्रसूति सेवा केन्द्रबाट एक हजार एक सय ५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।

    संस्थागत सुत्केरीको सङ्ख्या निरन्तर बढ्दै जानु सुरक्षित मातृत्वप्रतिको चेतना र स्थानीय सरकारले गरेको लगानीको प्रतिफल हो ।

    पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिलासमेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म बर्थिङ सेन्टरमै आउने गरेका छन् ।

    वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

    गर्भवतीलाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले दुर्गम बस्तीका महिलाले पनि सहजरूपमा सेवा लिन थालेका छन् ।

    गत आर्थिक वर्षमा वडा नम्बर १ कटकुइँयामा एक सय ८६, वडा नम्बर २ कालाफाँटामा एक सय ७४, वडा नम्बर ३ नरैनापुरमा एक सय एक, वडा नम्बर ४ लक्ष्मणपुरमा दुई सय ५४, वडा नम्बर ५ मटेहियामा दुई सय ८६ र वडा नम्बर ६ गङ्गापुरमा एक सय ५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।

    जटिल अवस्था देखिएमा तत्काल भेरी अस्पतालमा निःशुल्क रेफर गर्ने तथा ल्याउने–लैजाने व्यवस्था गाउँपालिकाले मिलाएको स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।

    वडा नम्बर १ कटकुइँया स्वास्थ्यचौकीमा कार्यरत अनमी सामना गुरुङले नरैनापुरमा पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो परिवर्तन महिलाको सोचमा आएको बताए ।

    उनले भने, “पहिले धेरैजसो गर्भवतीले घरमै सुत्केरी गराउने योजना बनाउँथे । अस्पताल आउन डराउने, खर्च धेरै लाग्छ भन्ने सोच्ने र अन्तिम समयमा मात्रै ल्याइने अवस्था थियो । अहिले भने गर्भ रहेदेखि नै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा आउने, सुत्केरी हुने मिति नजिकिँदै जाँदा आफैँ बर्थिङ सेन्टरमा सम्पर्क गर्ने र सुरक्षितरूपमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने चलन बढेको छ ।”

    उनका अनुसार, स्वास्थ्यकर्मीले गाउँगाउँमा पुगेर गरेको परामर्श, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारको बढ्दो साथ र गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले समुदायको सोच परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    “सुत्केरी भनेको सामान्य घटनाजस्तो देखिए पनि कुनै पनि बेला जटिल अवस्था आउन सक्छ । त्यसैले प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा हुने प्रसूति नै आमा र शिशु दुवैका लागि सुरक्षित हुन्छ । अहिले हामीले आमाहरूको आत्मविश्वास बढेको देखेका छौँ । कतिपय महिलाले छिमेकी र आफन्तलाई पनि घरमा होइन, बर्थिङ सेन्टरमै सुत्केरी गराउन प्रेरित गरिरहेका छन् । यो परिवर्तन हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो,” अनमी गुरुङले भने ।

    उनले अझै पनि दुर्गम बस्तीका केही परिवारमा पुराना मान्यता बाँकी रहेपनि स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउँदा आमा र नवजात शिशुको ज्यान जोगिनुका साथै आकस्मिक जटिलताको तत्काल उपचार सम्भव हुने भएकाले सबै गर्भवती महिलालाई संस्थागत सुत्केरी रोज्न आग्रह गरे ।

    कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा उदाहरणीय परिवर्तनतर्फ अघि बढिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

    स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायमा बढ्दो जनचेतनाले जोखिमपूर्ण घरायसी सुत्केरीलाई क्रमशः सुरक्षित संस्थागत सुत्केरीमा रूपान्तरण गरिरहेको उनको भनाइ छ ।

    अध्यक्ष शाहले केही वर्षअघिसम्म प्रसूति सेवा लिन नेपालगन्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुनु ठूलो उपलब्धि भएको बताए ।

    “सडक, विद्युत्, स्वास्थ्य संस्था र जनशक्तिमा भएको विस्तारले नरैनापुरको स्वास्थ्य सेवामा आमूल परिवर्तन आएको छ”, अध्यक्ष शाहले भने, “वडा–वडामा सञ्चालन भएका बर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई सुरक्षित सुत्केरी सेवा घर नजिकै उपलब्ध गराएका छन् ।”


    प्रकाशित : शुक्रबार, आश्विन १६ २०८३११:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार