म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र गरिने भएको छ ।
रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जल विद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउनेतालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो ।
दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने योजना शुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।
“कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत घुमाउनेतालदेखि गाउँपालिका केन्द्र मौवाफाँट जोड्ने चार सय मिटर सडक कालोपत्र गर्न लागिएको हो”, उनले भने, “४० मेगावाट क्षमताको राहुघाट जल विद्युत् आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ८० प्रतिशत र पालिकाभित्र निर्माण सम्पन्न भएका र निर्माणाधीन अन्य जल विद्युत् आयोजनाहरूको २० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नतिसहित कालोपत्र योजना अगाडि बढाइएको हो ।”
घुमाउनेतालदेखि पिप्ले हुँदै पालिका केन्द्र मौवाफाँट चोकसम्म कालोपत्र र त्यहाँदेखि बुक्ल–बाँधस्थलखण्डको सडक ग्राभेलसहित खोल्साहरूमा कलभर्ट निर्माण गरिने योजना छ ।
साँघुरो, जीर्ण र कच्ची सडकलाई घुम्ती सुधार, नाली, पर्खाल तथा ग्यावियन निर्माण गरी फराकिलो पारेर कालोपत्र गर्ने योजना थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।
जल विद्युत् आयोजनाहरूले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नतिका लागि गाउँपालिकाले धेरै प्रयास गरेपछि अहिले आएर सार्थकता पाएको उनले बताए ।
गाउँपालिकाको संयोजनमा एक वर्षअघि भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधिसमेतको छलफलमा जल विद्युत् आयोजनाले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नती गर्ने प्रतिबद्धता जनाएअनुसार कालोपत्रको योजना अघि बढेको अध्यक्ष भण्डारीले बताए ।
हाल रघुगङ्गा हाइड्रोपावरले सडक फराकिलो पार्ने, नाली निर्माण र सबबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए ।
उनका अनुसार राहुघाट जल विद्युत् आयोजनाले कालोपत्र गर्ने कामबाहेकका सम्पूर्ण काम गर्ने र अन्य जल विद्युत् आयोजनाहरूले कालोपत्र गर्ने खर्चको २० प्रतिशत लागत व्यहोर्ने गरी सम्झौता भएको छ ।
आगामी कात्तिक १५ गतेसम्म सडक स्तरोन्नतिको काम सक्नुपर्ने आयोजनासँग लिखित सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
सडक स्तरोन्नतिसहित कालोपत्र भएपछि रघुगङ्गाका आठवटै वडाका बासिन्दालाई सहज हुने जनाइएको छ ।
रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, २१.३ मेगावाटको ठूलोखोला, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’लगायतका आयोजना सञ्चालनमा छन् ।
चालीस मेगावाट क्षमताको राहुघाट जल विद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ ।

