सिमरा, बारा । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा शिक्षा क्षेत्रको मुहार फेर्न ऐतिहासिक दरबार हाइस्कूलजस्ता सुविधासम्पन्न र विश्वस्तरीय विद्यालयहरूको निर्माण अति आवश्यक रहेको बताएको छ ।
शिक्षा तथा खेलकूद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मधेशमा गुणस्तरीय पूर्वाधारसहितका नमूना विद्यालयहरू स्थापना गर्ने सरकारको योजना रहेको स्पष्ट पारे ।
कार्यक्रममा मधेस केन्द्रित शिक्षा सुधारका योजनाहरू प्रस्तुत गर्दै मन्त्री पोखरेलले दरबार हाइस्कूलको अवधारणा र यसको आवश्यकतामाथि विशेष जोड दिएको थियो ।
'सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ मधेसमा हामीले वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर उनले मलाई सुझाव पनि दिएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी चाहिँ मधेसमा कम्तीमा सयवटा वर्ल्ड क्लास स्कुल माध्यमिक तहसम्मको - अहिले चलिरहेको विद्यालयलाई नै रूपान्तरण गरेर वा अन्य कुनै ठाउँमा सारेर चलाउने गरी विभिन्न मोडालिटीमा काम गर्न सक्छौँ ।
जसरी हुन्छ, दरबार हाइस्कूलजस्ता उत्कृष्ट विद्यालयहरू मधेशमा अझै धेरै आवश्यक छन् ।'
उनले थप स्पष्ट पार्दै भने, 'त्यो स्कुल बनाउँदा विद्यार्थीहरू राम्रो वातावरणमा बसेर, आधुनिक सुविधासहित पढ्न सक्ने खालको हुनुपर्छ ।
कतिपय ठाउँमा शिक्षक र विद्यार्थीको अनुपात नमिल्ने वा पर्याप्त भौतिक संरचना नहुने समस्या पनि छ, त्यसैले हामीले जग्गाको उपलब्धता, भूगोल र जनसङ्ख्याको डेमोग्राफीलाई राम्ररी हेरेर वैज्ञानिक ढङ्गले त्यस्ता विद्यालयहरू निर्माण गर्नुपर्छ ।'
काठमाडौँमा मात्र केन्द्रित नभइ मधेसका प्रत्येक जिल्ला र क्षेत्रमा विद्यार्थीहरूले विश्वस्तरीय शिक्षा पाउने वातावरण सिर्जना गर्न सरकार लागिपरेको मन्त्री पोखरेलको भनाइ थियो ।
ग्राउन्डको वास्तविक यथार्थ र आवश्यकता बुझेर मात्रै शैक्षिक पूर्वाधारको विकास गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले मधेशमा शिक्षाको गुणात्मक छलाङ मार्न यस्तै नमूना विद्यालयहरूको निर्माण अपरिहार्य रहेको दोहोर्याए ।

