काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरहरूले सिंहदरबारस्थित शिक्षा तथा खेलकूद मन्त्रालय पुगेर आफ्ना गुनासा र माग प्रस्तुत गरेका हुन् ।
मन्त्रालयमा आयोजित छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट डाक्टरले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्दै आएका समस्या मन्त्रालयका उच्च अधिकारीसमक्ष राखेका थिए ।
रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट विद्यार्थीलाई अनावश्यक दबाब तथा टर्चर दिएको र अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको आरोप लगाएका छन् ।
उनीहरूले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण निर्माण गरी अध्ययनमा फर्कने अवस्था बनाउन सरकारसँग आग्रह गरेका छन् ।
छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।
रेजिडेन्ट डाक्टरहरूले आफूहरू सरकारप्रति आशावादी रहेकाले समस्या समाधानको पहलका लागि मन्त्रालयसम्म आएको बताएका छन् ।
“यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौँ,” उनीहरूले भने ।
रेजिडेन्ट डाक्टरहरूले अन्य निजी मेडिकल कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न माग गरेका छन् ।
त्यस्ता गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
आन्दोलनरत डाक्टरहरूले कलेजमा तत्काल फर्किएर अध्ययन गर्ने वातावरण नरहेको बताएका छन् ।
उनीहरूले आफ्ना समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संकेतसमेत दिएका छन् ।
मन्त्रालयले रेजिडेन्ट डाक्टरहरूले उठाएका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट डाक्टरका वास्तविक समस्या उनीहरुबाटै सुन्ने र समस्या समाधानका लागि सरकारकोतर्फबाट के कस्ता पहल गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए ।
'यो विषयमा सरकार गम्भीर छ । शिक्षामन्त्रीले पनि गम्भीरताका साथ यसलाई हेरेको छ । तपाईं आशा लिएर जानुस्, हामी यथाशिघ्र छिटो यसलाई सम्बोधन गर्छौं' झाले भने ।
कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
रेजिडेन्ट डाक्टरहरूले भने सरकारको पहलबाट आफूहरूको समस्या समाधान हुने र कलेजमा पुनः शान्तिपूर्णरूपमा अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा गरेका छन् ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि विद्यार्थीको समस्यालाई लिएर आयोग गम्भीर रहेको र यसको समाधानमा आवश्यक पहल गर्ने बताएको छ ।

