सुनसरी । भीष्म अधिकारीले वार्षिक रु. ५० लाख आम्दानी गर्न थालेका छन् । दश कट्ठा क्षेत्रफलबाट शुरु गरेको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो । उनी बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन् ।
उनले माछापालनबाट दाना, माछाका भुरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु. ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । विक्रम संवत २०५२ मा दश कट्ठाबाट माछापालन शुरु गरेका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आएका छन् ।
अधिकारीले रौ, नैनी, भाकुर, कमन, ग्रासलगायत सात प्रजातिका माछा पाल्दै आएका छन् ।
पोखरीमा उत्पादित माछा सुनसरीका इनरुवा, लौकही, कालाबञ्जर, इटहरी, झुम्कालगायतका बजारमा बिक्री हुने गरेका छन् ।
अधिकांश व्यापारी पोखरीमै आएर माछा खरिद गरी लैजाने गरेका छन् । पोखरीबाट प्रतिकेजी रु. दुई सय ५० देखि रु. तीन सयमा बिक्री हुने गरेको बताए ।
उनका अनुसार करिब दुई किलो दाना खुवाउँदा एक किलो माछा उत्पादन हुने गरेको छ । माछाको दाना प्रतिकेजी रु. एक सय ६० देखि रु. एक सय ७० सम्म पर्छ ।
उनले माछाका भुरा निजी फार्मबाट ल्याउने गरेका छन् । भुराको मूल्य प्रतिकेजी रु. पाच सयदेखि रु. पाच सय ५० सम्म पर्ने गरेको छ । कोशी प्रदेशमा सरकारी माछा भुरा उत्पादन फार्म नहुँदा सरकारी निकायबाट भुरा उपलब्ध हुन नसकेको जानकारी दिए ।
सरकारले माछापालनका लागि आवश्यक भुरा र दाना सहजरूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्ने र उत्पादन बढाउन सकिने अवस्था छ ।
विशेषगरी बराहक्षेत्र–८, ९ र ११ मा माछापालक किसान बढ्दै गएका छन् । नगरपालिकामा करिब तीन सय घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार तीन सय भन्दा बढी पोखरी रहेको अधिकारीले बताए ।
कोशी नदी किनारलाई कृषि पर्यटन (एग्रो टुरिजम)सँग जोडेर थप विस्तार गर्ने योजना बनाएको बताए ।
माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उनको भनाइ छ ।

