२०८३, कार्तिक ११ गते बुधबार

रघुगङ्गामा व्यावसायिक चौँरीपालन शुरु

रघुगङ्गामा व्यावसायिक चौँरीपालन शुरु


  • मेरोभ्यूज
  • आश्विन २५, २०८३ आइतबार

  • रघुगङ्गामा व्यावसायिक चौँरीपालन शुरु

     

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन शुरु गरेका छन् ।

    धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीनजना किसानले सामूहिकरूपमा पालिकामै पहिलो पटक चौँरीपालन शुरु गरेका हुन् ।

    कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गरेका हुन् ।

    उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन ।

    “म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,” धनप्रसादले भने, “पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ ।”

    याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताए ।

    उनका अनुसार चौँरीपालनमा तीन जनाको रु. ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

    धनप्रसाद गाउँमै खेती किसानी, गाईभैँसी र बङ्गुरपालन गरेर बस्दै आएका छन् । धनकुमारी बेनीमा होटल व्यवसाय गर्छिन् र प्रदीप निर्माण व्यवसायी हुन् । उनीहरूले चौँरी फार्ममा एक जनालाई रोजगारी पनि दिएका छन् ।

    बर्खामा हिमालको फेदीको बुकीमा लगिने चौँरीका लागि हिउँदमा बेँशीका फाँटमा चरनको सुविधा रहेको छ ।

    समुद्री सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइको हिमाली क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ ।

    चौँरीलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दूध उत्पादन, सामान ढुवानी तथा मासुका लागि पाल्ने गरेको पाइन्थ्यो ।

    डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, सिन्धुपालचोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थान चौँरीको पकेट क्षेत्र हुन् ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा क्षेत्रमा विक्रम संवत २०६० को दशकदेखि चौँरीपालन हुँदै आएको छ । देशभर करिब ११ हजार पाँच सय चौँरी रहेको पशुपन्छी मन्त्रालयको तथ्याङ्क छ ।


    प्रकाशित : आइतबार, आश्विन २५ २०८३१०:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार