२०८३, कार्तिक ११ गते बुधबार

भोजपुरमा वनबाट रु. नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुरमा वनबाट रु. नौ करोड ६९ लाख राजस्व सङ्कलन


  • मेरोभ्यूज
  • आश्विन २६, २०८३ सोमबार

  • भोजपुरमा वनबाट रु. नौ करोड ६९ लाख राजस्व सङ्कलन

     

    भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु. नौ करोड बढी राजस्व सङ्कलन भएको छ ।

    डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु. नौ करोड ६९ लाख ६३ हजार नौ सय ५० राजस्व सङ्कलन गरेको हो ।

    कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व सङ्कलन भएको हो ।

    जिल्लामा वन क्षेत्र राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको कार्यालयले जनाएको छ ।

    डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा निजी वनबाट २९ लाख २४ हजार चार सय ३० क्युफिट काठ स्थानान्तरण गरिएको छ ।

    काठ निकासीबाट मात्र रु. आठ करोड १२ लाख ९३ हजार नौ सय २५ मूल्य अभिवृद्धि कर र रु. एक करोड ४६ लाख ५२ हजार ९०० प्रदेश सेवा शुल्क सङ्कलन भएको उनले जानकारी दिए ।

    “जिल्लामा वन क्षेत्रबाट हुने काठ तथा अन्य वन पैदावारको कारोबारबाट नौ करोड बढी राजस्व सङ्कलन भएको छ,” प्रमुख मियाले भने, “वन पैदावारको उपयोगसँगै यसको व्यवस्थित व्यवस्थापन र संरक्षणमा समेत ध्यान दिइरहेका छौँ ।”

    त्यस्तै, रु. पाँच लाख ४१ हजार ८० वन रोयल्टी सङ्कलन भएको कार्यालयले जनाएको छ । वन क्षेत्रबाट राजस्व सङ्कलन हुनुका साथै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर पनि सिर्जना भएको कार्यालय प्रमुख मियाले बताए ।

    वन क्षेत्रबाट प्राप्त राजस्व र रोजगारीले स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याएको छ । जिल्लामा पर्याप्त वन क्षेत्र रहेकाले काठ तथा गैरकाष्ठ वन पैदावारको दिगो उपयोग, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयस्तरमा थप रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने कार्यालयको भनाइ छ ।

    जिल्लाको कुल भू–भागमध्ये ८४ हजार एक सय ६१ हेक्टर अर्थात् ५५.२८ प्रतिशत क्षेत्र वनले ढाकेको छ ।

    वन पैदावारको दिगो उपयोग, स्थानीयस्तरमै प्रशोधन तथा मूल्य अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन सके जिल्लाले वन क्षेत्रबाट थप आर्थिक लाभ हासिल गर्न सक्ने सम्भावना छ ।


    प्रकाशित : सोमबार, आश्विन २६ २०८३०७:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार